Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ : सांसद न्यौपाने

संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ : सांसद न्यौपाने

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न माग गरेका छन्।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले सम्पत्ति विवरण गोप्य राख्न नहुने बताएका हुन्।

    images

    सम्पत्ति गोप्य राख्ने व्यवस्थाले सुशासन, पारदर्शिता र जबाफदेहिता कमजोर हुने उनले बताए। संवैधानिक नियुक्ति पाएका व्यक्ति तथा न्यायाधीशको सम्पत्ति विवरणसमेत सार्वजनिक हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए। पहुँच भएका व्यक्तिको सम्पत्ति गोप्य राख्ने र सर्वसाधारणको सम्पत्तिमाथि भने विभिन्न प्रश्न उठ्ने वर्तमान अवस्थाले भ्रष्टाचार नियन्त्रणमा गम्भीर चुनौती सिर्जना गर्ने उनको भनाइ छ।

    ‘सुविधा दिने एउटा कुरा हो, तर गोपनीयताको कुरा बडो महत्त्वपूर्ण हुन्छ,’ सांसद न्यौपानेले भने, ‘यो देशमा सम्पत्ति गोप्य रहने अनि हेर्न नपाउने भन्ने व्यवस्थाले सुशासन हुँदैन। त्यसैले यो विषयमा म मन्त्रीज्यूको पनि ध्यानाकर्षण गराउँछु।’

    पहुँचवालाको सम्पत्ति गोप्य रहने परिपाटीमाथि प्रश्न उठाउँदै उनले थपे, ‘संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशको सम्पत्ति गोप्य रहने अनि पहुँच नहुनेको छानबिन हुने हो भने देशमा भ्रष्टाचार कहिले अन्त्य हुन्छ? त्यसैले यी सबैको सम्पत्ति सार्वजनिक हुने कानुन हामीलाई आवश्यक छ।’

    संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशहरूले पारदर्शिता, जबाफदेहिता र जिम्मेवारी बोध गर्नुपर्नेमा उनले जोड दिए। सम्पत्ति विवरणको पारदर्शिता सुशासन र जबाफदेहितासँग प्रत्यक्ष जोडिएको विषय भएको धारणा उनले राखे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार