काठमाडौं । नेपालगन्जबाट डोल्पा गएको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ । जहाजमा रहेका १३ यात्रु र तीन जना चालक दलका सदस्य सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बिहीबार बिहान ८ः२५ बजे सीता एयरको डोर्नियर जहाज डोल्पा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा ल्याडिङ रोलका बेला ल्याडिङ गियरमा समस्या आएको हो । त्यसपछि जहाज धावनमार्गमै रोकिएको थियो।
जहाजको दर्ता नम्बर ९एन-एजेएच रहेको छ । जहाजमा १३ यात्रु र तीन जना चालक दलका सदस्य रहेका थिए। जहाजमा क्याप्टेन अजय प्रधान र क्याप्टेन अजय कुँवर पाइलट रहेका थिए । घटनाबारे थप विवरण लिइनुका साथै तथा जहाजको अवस्थाबारे आवश्यक जाँच गरिरहेको प्राधिकरणले जनाएको छ।



