Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता हटाउन माग

आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता हटाउन माग

बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीहरूको उद्धारमा देखिएको कानुनी जटिलता तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद महताले आफ्नो परिवारका सदस्यको उपचारका क्रममा भोगेको पीडादायी अनुभव सुनाउँदै यस्तो आग्रह गरेका हुन्।

    गत भदौ ६ गते सुत्केरी व्यथा लागेपछि आफन्तलाई कन्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने चिकित्सकको सुझाव अनुसार हेलिकप्टरको खोजी गर्दा निकै सास्ती भोग्नुपरेको उनले बताए।

    images

    सो क्रममा कुनै पनि कसैको फोन रिसिभ नभएको र लामो समयपछि बल्लतल्ल उद्धार गरिएको स्मरण गर्दै उनले भने, ‘म आफ्नो परिवारको सदस्यको जीवन बचाउनुपर्ने अत्यन्तै पीडादायी अवस्थामा थिएँ। सभामुख ज्यूलाई सबै कुरा बताउँदै गर्दा म भावनात्मक रूपमा यति विचलित भएँ कि त्यो शब्दमा बयान गर्न सक्दिनँ।’

    सांसद महताले कानुनी जटिलताका कारण बिरामीको उद्धारमा ढिलाइ हुनु दुःखद भएको भन्दै यस्तो अवस्थामा सामान्य नागरिकले के गर्ने भनी प्रश्न गरे । ‘दुर्गम क्षेत्रका गाउँमा बस्ने, आर्थिक रूपमा कमजोर र राज्यका निकायसम्म पहुँच नभएका नागरिकले आपत्कालीन अवस्थामा जीवन बचाउने उपचार कसरी पाउने ?’ उनले सोधे।

    उनले दुर्गम क्षेत्रका नागरिकका लागि आपत्कालीन स्वास्थ्य सेवा, हेलिकप्टर र पूर्वाधार तयारीलाई प्राथमिकतामा राख्न माग गरेका छन् । सांसद महताले भने, ‘म सरकारसँग कुनै व्यक्ति विशेषका लागि नियम तोड्न माग गर्दिनँ। बरु सबै नेपाली नागरिकका लागि समान रूपले लागू हुने गरी स्पष्ट, पारदर्शी र आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने गरी उद्धार प्रणाली निर्माण गर्न माग गर्दछु।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार