काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले पोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन र स्वच्छ वातावरणको निर्माणमा यस विधेयकले कोसेढुङ्गाको काम गर्ने बताए।
मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्न यो विधेयक आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘फोहोरमैलालाई अब फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने आजको आवश्यकता छ। यसका लागि तीनै तहका निकायहरूबिच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य छ।’
विधेयकको मुख्य ध्येय पोहोर मैलाको समुचित व्यवस्थापनद्वारा स्वच्छ र स्वस्थ वातावरण कायम गर्नु रहेको मन्त्री लम्सालले बताए। उनले भने, ‘मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप पोहोर मैलाको प्रशोधन गरी स्रोतसाधनको रूपमा उपयोग गर्न यो विधेयक ल्याइएको हो।’
मन्त्री लम्सालले फोहोरमैला व्यवस्थापनको कार्यलाई दिगो र व्यवस्थित बनाउन सङ्घीय कानुन वाञ्छनीय भएको र सोही आवश्यकतालाई सम्बोधन गर्न यो विधेयक संसदमा प्रस्तुत गरिएको जानकारी दिए।
उनले यस विधेयकले फोहोरमैला व्यवस्थापनमा देखिएका विद्यमान कानुनी तथा प्रशासनिक जटिलतालाई चिर्दै थप चुस्त व्यवस्थापनको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।



