काठमाडौँ । इलाम र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। इलामको रोङ गाउँपालिका-५ देवनथापस्थित सडकमा देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१-०४-००१ त १२३६ नम्बरको ट्याक्टर मङ्गलबार बेलुकी अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टर चालक झापा मेचीनगर नगरपालिका-५ नकलबन्दा बस्ने ४० वर्षीय अमित धिमालको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मङ्गलबार दिउँसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका काभ्रे घर भएका ५८ वर्षीय चन्द्र बहादुर दोङको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।



