Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘शेरबहादुर देउवा र गगन थापाबिचको संवादहीनताले एउटै महाधिवेशन हुन गाह्रो भयो’

‘शेरबहादुर देउवा र गगन थापाबिचको संवादहीनताले एउटै महाधिवेशन हुन गाह्रो भयो’

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन नभए पनि दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनका कार्यतालिका ल्याएका छन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु भइसक्यो । इतर समूहले असोज १५ गतेदेखि अधिवेशनको कार्यक्रम सुरु गर्ने भएको छ।

    केही नेताहरू डा. शेखर कोइरालाको नेतृत्वमा कुनै पनि महाधिवेशनमा भाग नलिने घोषणासहित पार्टी एकताका लागि मध्यस्थता गर्ने बताइरहेका छन् । त्यही समूहमा पर्छन् निवर्तमान सहमहामन्त्री बद्री पाण्डे।

    images

    पाण्डेसँग हामीले पार्टीमा दुई महाधिवेशनको अवस्था किन आयो ? अब मिल्ने सम्भावना छ कि छैन ? यस्तै विषयमा लागि मधुसुधन भट्टराईले पाण्डेसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश –

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन भयो । तपाईंहरू त अधिवेशनमा सहभागी हुनुभएन नि, किन?

    असोज ३ र ४ गते वडा अधिवेशन भइसकेको छ । अर्कोतर्फ १४औँ अधिवेशनबाट निर्वाचित सभापतिको समूहले छुट्टै अधिवेशन तोकेको छ । दुई वटा अधिवेशन नहोस् भन्नेमा र सबै एक स्थानमा भएर अधिवेशन गरौँ भन्नेमा हामी थियौँ र छौँ।

    पछिल्लो दिनमा एउटै अधिवेशन गरौँ, एकताको अधिवेशन गरौँ भन्ने कुरा अब सम्भव नदेखिने जस्तो लाग्यो । तैपनि विभाजित भएर दुई वटा अधिवेशन हुँदैगर्दा कुनैमा पनि नजाऔँ, बरु दुवै अधिवेशनलाई ढिलोचाँडो एक बनाउने अभियानलाई जोगाइ राखौँ भन्ने पक्षमा हामी छौँ । अन्ततोगत्वा पार्टी एकता आवश्यक पनि छ र अनिवार्य पनि छ । त्यो सम्भव हुन्छ कि भन्ने सोचेरै वडा अधिवेशनहरूमा अथवा विभाजित भएर गरिने महाधिवेशनमा नजाने निर्णयमा पुगेका हौँ । एक प्रकारले हामी तटस्थ छौँ।

    यसको मतलब १५ गतेदेखि सुरु हुने अधिवेशनमा पनि यहाँहरूको सहभागिता हुँदैन?

    असोज ३ र ४ गते भएको वडा अधिवेशनमा हाम्रो सहभागिता भएन । १५ गतेदेखि सुरु हुने अधिवेशनमा पनि हाम्रो सहभागिता हुँदैन । हामी तटस्थ रहने भयौँ । दुवै अधिवेशनमा हामी सहभागी हुँदैनौँ । बरु यो दुवै अधिवेशनलाई एक पार्ने केही उपाय छ कि भन्ने कुराको चिन्तन, मनन् गर्छौं । छलफल पनि गर्छौं । उपायको खोजी गर्छौं । सुझाव दिन्छौँ। दबाब दिन्छौँ । अभियान चलाउँछौँ।

    अहिलेसम्म त्यस्तो सुझाव वा दबाबको अहिलेसम्म कुनै उपाय भेटिएको छ?

    असोज २ गतेसम्म पनि हामीले दुई वटा अधिवेशन नहोस् भनेर कोसिस गरेको हो । मैले आफैँले पनि व्यक्तिगत रूपमै धेरै कोसिस गरेँ । सर्वोच्च अदालतमा रहेको आधिकारिकता सम्बन्धी विषयको कारणले गगनजी (सभापति गगन थापा)हरूले १६ गतेको अधिवेशन सार्न नसकिने भन्दै आउनुभएको छ । त्यसैले अब शेरबहादुर दाइ (देउवा) र गगनजीको भेटघाट हुने र खुला संवाद हुने हो भने सहमतिका लागि अप्ठ्यारो छैन।

    शेरबहादुर दाइले आधिकारिकता मैले पाउँछु भनेर सर्वोच्चमा पुनरवलोकनका लागि निवेदन दिनुभएको छ र त्यसलाई सर्वोच्चले निस्सा दिएको छ । उहाँले आधिकारिकता सम्बन्धी मुद्दालाई फिर्ता लिने, गगनजीहरूको अधिवेशन पर सारिदिने हो भने कुरा मिल्ले सम्भावना देखिन्छ । त्यतिमात्र होइन, पर सारिएको समयमा अधिवेशनमा दुवै पक्षको सहभागितामा आवश्यक निर्णय गर्ने, महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समिति, उपसमितिहरू बनाउने विकल्प हुन सक्छ कि भनेर हामीले पछिल्लो दिनमा निकै कोसिस गर्‍यौँ । त्यो पनि सम्भव भएन । त्योमात्रै होइन, दुई जना नेताहरूको भेटघाट पनि सम्भव भएन । दुई जना नेताहरूको भेटघाट सम्भव हुनासाथै आपसका साथीहरूबिच भएका असमझदारी हट्थ्यो । छलफलमा आफ्ना–आफ्ना संवेदनशीलता र अप्ठ्याराहरू प्रस्तुत हुन्थे होला । त्यसमा समाधानका उपाय निकाल्न कोसिस हुन्छ र बाटो खुल्छ होला । त्यो सम्भव नभएपछि तत्कालका लागि सहमतिको बाटो बन्द भयो जस्तो लाग्छ मलाई।

    अहिले कुनै ठुलो कुरा थिएन । महाधिवेशनमा जाने कुरा नै थियो । महाधिवेशनमा सबै जाने कि आधा–आधा भएर जाने ? विभाजित भएर जाने कि एकजुट भएर जाने भन्नेमात्रै कुरा हो । आखिर महाधिवेशनमा त जानु नै छ। शेरबहादुर देउवालगायतको अघिल्लो पुस्ता स्वाभाविक रूपमा एकजुट भएर महाधिवेशनमा जाँदा पनि रिटायर्ड नै हुने हो । एउटा पक्षको अधिवेशनमा जाँदा पनि रिटायर्ड नै हुने हो । गगनजीहरूको पुस्ताले, हाम्रो पुस्ताले एकताबद्ध भएका महाधिवेशनबाट जाँदा पनि नेतृत्व लिने नै हो । विभाजित महाधिवेशनबाट पनि नेतृत्व लिने नै हो । त्यसैले कांग्रेसको हितमा, हामी सबैको हितमा, अझ हाम्रो पुस्ताको हितमा एकताबद्ध महाधिवेशन हुन्थ्यो भन्ने लागेको हो हामीलाई । त्यो सम्भव नहुँदाखेरि अलिकति चिन्तित हुनुपर्ने अवस्था बन्यो।

    यो विवाद समाधान गर्ने उपायहरू पनि केही पहिल्याउनुभएको छ होला नि?

    केही अघि शेरबहादुर देउवा बाहिर हुँदै विवाद समाधान हुने अवस्थामा पुगेको थियो । त्यतिबेला उहाँ उपचारका लागि विदेशमा हुनुहुन्थ्यो । सर्वोच्च अदालतले पार्टी आधिकारिकताका सम्बन्धमा दिएको फैसलामा पुनरवलोकनको निवेदन पनि दर्ता भएको थिएन । त्यो बेलामा क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगरेमा सबै पक्षले महाधिवेशनमा भाग लिने कुरा चलिरहेको थियो । हामीले १५औँ महाधिवेशनका लागि भनेर नवीकरण गरिएकाहरू सबैलाई भाग लिने अवसर दिऔँ र केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी सदस्यहरू, जुन विशेष अधिवेशनमा सहभागी पनि हुनुभएन र बाहिर पर्नुभयो– उहाँहरूलाई कार्यसमितिमा लैजाउँ भन्यौँ । कार्यसमितिमा सबैलाई लैजाँदा सभापतिलाई आफ्नो बहुमत पुग्दैन कि भन्ने लाग्छ भने गगनजीले आफ्नो पक्षका सदस्य पनि थपे हुन्छ भन्ने प्रस्ताव पनि राखेका थियौँ। यो कुरामा सहमति भए हामी सहमत हुन्छौँ, प्रक्रियामा सामेल हुन्छौँ भनेर पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले भन्नुभएको थियो । त्यो विषयमा हामीमार्फत कुरा पनि भएको हो । तर संस्थापन पक्ष यसमा सहमत देखिएन।

    त्यसपछि चित्त नबुझेको पक्ष सर्वोच्चमा फैसला पुनरवलोकनको माग गर्दै निवेदन दिएर गयो । निवेदनमा पुनरवलोकनको निस्सा प्राप्त भयो । अनि शेरबहादुर देउवा पनि नेपाल फर्किनुभयो । त्यसपछि असन्तुष्ट पक्षको बार्गेनिङ पावर बढेको देखियो । जुन कुरा पहिले सजिलो गरी समाधान हुने बाटोमा पुगेको थियो, अहिले त्यो कुराभन्दा छलफल अन्त गयो । पछिल्लो दिनमा दुवैतिरका फरक–फरक अडान बाहिर आए।

    दुई–तीन महिना पहिले त्यो माग पूरा भएको भए सबै सहभागी भएर, निर्णय प्रक्रियामा सबै सामेल भएर महाधिवेशन गर्दा ठिकै हुन्थ्यो । ढिलो निर्णय गरेपछि सबैलाई सामेल गरेर केन्द्रीय समितिमा पनि लैजाने कुरा गर्नुभएको थियो। त्यसपछि निर्वाचनलगायत महाधिवेशनसँग सम्बन्धित समितिहरू बनाउने कुरामा सबैको सहभागिता गराउन सकिन्थ्यो। क्रियाशील सदस्यताको नवीकरणहरूलाई त मान्यता दिइसकेको थियो । क्रियाशील सदस्यता वितरणमा पनि सबै पक्षलाई समय दिएर गर्न सकिन्थ्यो । विशेष महाधिवेशनबाट आएको पक्षमात्र होइन कि अर्को पक्ष पनि समावेश भएर जाँदा हुन्थ्यो भन्ने हामीलाई लागेको हो।

    पछिल्लो दिनमा इतरपक्षबाट संस्थापन पक्षतिर जाने साथीहरू केन्द्रीय कार्यसमितिमा त जानुभयो, तर उहाँहरू जानुमात्रै भयो । कुनै प्रक्रियामा, निर्णयमा उहाँहरूको सहभागिता रहेन । एउटा बैठकमा जानुभयो, त्यसपछि सिधै वडा अधिवेशनमा जानुपर्ने अवस्था रह्यो । जसले गर्दा उहाँहरूलाई विधान कस्तो बनेको छ, थाहा छैन । निर्वाचन समितिमा सहभागिताको सुनिश्चितता छैन । क्रियाशील सदस्यताको व्यवस्थापनमा सहभागिता थिएन । क्रियाशील सदस्यताको छानबिन गर्ने समिति नै बनेन । यी सबै कुराले के भयो भने महाधिवेशनको आयोजना एक पक्षले गर्ने, सहभागी सबै पक्ष हुने जस्तोमात्रै भयो।

    आयोजना गर्ने प्रक्रियामा सबै पक्ष सहभागी हुन महाधिवेशन गर्ने मिति केही समय पर सार्न सकिन्थ्यो । पर सार्न गगनजीहरू हिचकिचाउनु भयो । त्यसको कारण आधिकारिकता सम्बन्धी मुद्दामा असोज १६–१९ मा हामीले महाधिवेशन गर्छौं भन्ने उल्लेख छ । त्यो समयमा अधिवेशन गरेनौँ भने मुद्दामा हामी पराजय पनि भोग्नुपर्ने हुनसक्छ, आधिकारिकता अर्कोतिर जान्छ कि भन्ने उहाँहरूलाई डर थियो।

    अर्को पक्षले मुद्दा फिर्ता लिने र गगनजीहरूले मिति सार्ने काम नेताहरू सँगै बसेर, छलफल गरेर सहमतिमा पुग्न सकिन्थ्यो । त्यो हुन सकेन । वडा अधिवेशन भइसकेपछि सार्ने विषय तत्कालका लागि हुन सक्दैन । त्यसबाट एउटा पक्ष प्रक्रिया नै छुट्यो । वडा अधिवेशनको प्रक्रियाबाटै एउटा पक्ष वञ्चित भएपछि समावेश गर्न कठिन भयो।

    अर्कोतर्फ १५ गतेको वडा अधिवेशन कसरी सफल पार्ने भनेर अर्को समूह लागेकै देखिन्छ । त्यसो हुनाले यतिखेर के गर्ने भन्ने उपाय छैन । एकता जरुरी थियो । एकतामा नआउनु गल्ती थियो । यसबाट भोलिको दिनमा ठुलो पछुतो हुन्छ। पार्टीलाई क्षति हुन्छ । हामीलाई पनि क्षति हुन्छ । कांग्रेस पार्टीलाई क्षति हुँदा देशलाई पनि क्षति हुन्छ । लोकतन्त्रलाई पनि क्षति हुन्छ । अब जे गल्ती भयो, भइहाल्यो । दुईतिर अधिवेशन गर्ने दिशा हामीले रोजिसक्यौँ । ढिलो–चाँडो हामी एउटै विन्दुमा आउनुपर्छ । बायाँतिर गएकाले पनि बिचमा आउनुपर्छ । दायाँतिर गएकाले पनि बिचमा आउनुपर्छ । एकताको मिलन विन्दुमा आउनुपर्छ भन्ने अभियान चलाउने बाहेक हामीसँग यतिखेर कुनै उपाय अथवा त्यस्तो कुनै मार्गचित्र देख्दिनँ।

    तपाईंले सभापति र निवर्तमान सभापतिबिच भेटघाट नै हुन सकेन भन्नुभयो । भेट हुन नसक्ने कारणचाहिँ के रहेछ ? केही पत्ता लगाउन सक्नुभयो?

    मैले आफैँले, आफ्नो बुद्धिले भ्याएसम्म र नेता डा. शेखर कोइरालालाई आग्रह गरेर कसरी सम्भव होला भन्नेमा बडो मेहनत गरेको हो । पूर्वउपसभापति धनराज गुरुङसहित हामीले सभापति र निवर्तमान सभापतिलाई भेटेको पनि हो। दुई नेताबिच भेटघाट गर्नु पर्‍यो भनेका पनि हौँ । उहाँहरू पोजेटिभ नै हुनुहुन्थ्यो । कहाँ के समस्या भयो भन्ने थाहा भएन । जे–जे भए पनि यसमा अरूलाई दोष दिनु वा बाधक को हुन् भन्नुभन्दा पनि दुवैजना त्यसको जिम्मेवार हुनुहुन्छ। गगनजीले जसरी हुन्छ उहाँलाई म भेटछु भन्ने सोचिदिएको भए र शेरबहादुर देउवाले पनि गगनलाई म भेट्छु भन्ने सोचिदिएको भएदेखि केही सहजता हुन्थ्यो होला।

    मलाई लाग्छ, विशेष अधिवेशनबाट गगनजी सभापति भएको ७–८ महिना भइसक्यो । त्यसपछि दुई जनाको भेट भएको छैन । एउटा प्रजातान्त्रिक पार्टीभित्र, हाम्रो आफ्नो संस्कारको दृष्टिकोणले राजनीतिक विचार नमिन्ने, भिन्न मत हुनेसँग पनि सँगै बस्ने, एकताको कुरा गर्ने, मेलमिलापको कुरा गर्ने संस्कार हो । यो हाम्रो संस्कारको पनि प्रतिकूल भयो जस्तो लाग्छ।

    कांग्रेसमा योभन्दा अगाडि पनि यस्ता विवाद धेरै देखिन्थे, गुटगत विवादहरू हुन्थे, तर ती समाधान हुन्थे। अहिले समाधान भएन । पहिलाका विवाद र अहिलेकोमा के फरक देखियो?

    पहिलेका र अहिलेकोमा केही फरक देखिएको छ । पहिले जुन एकता, मेलमिलाप, एकअर्काप्रतिको सद्भाव, एकअर्काको संवेदनशीलता बुझ्ने, हाम्रो समझदारीको जुन स्तर थियो, त्यो नै खस्केको हो भन्ने मान्नुपर्‍यो । अरू त यसलाई के भन्ने ? कुनै बेला पार्टी नै दुई वटा भइसकेको कांग्रेसलाई शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाहरूको नेतृत्वले सजिलो गरी एकता गर्नुभएको थियो । अहिले त पार्टी फुटेको पनि थिएन । फुटतिर जाँदैथियो।

    फुट्नेतिर जान नदिइकन रोक्नुपर्छ भन्ने कुराको व्यापक दबाब पनि थियो । कार्यकर्ता पंक्तिमा देशैभरि केही मान्छे आफ्नो–आफ्नो पक्षधरता गर्लान् तर सबै पक्षधरतामा लाग्दैनन् । कसैको पक्ष र विपक्षमा धेरै लाग्नुभन्दा, कांग्रेस एक होस् भन्ने चाहन्छन् । कांग्रेसजन मात्र होइन, नेपालका लोकतन्त्रवादीहरू, डेमोक्रेटहरू, जसले लोकतन्त्रमा विश्वास गर्छन्, उनीहरू कांग्रेस नफुटोस् भन्ने ठान्छन् । यो ठुलो दबाब पनि हामीले महसुस नगर्नु, एकतामा नजानु, एकतामा जानका लागि शीर्ष तहका दुई जना नेताका बिचमा भेट नहुनु, विगतमा भन्दा संस्कारको दृष्टिकोणले, राजनीतिक संस्कृतिको दृष्टिकोणले, हामीमा क्षयीकरण भएको हो कि भन्ने कुराको समीक्षा गर्नुपर्छ जस्तो लाग्छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार