काठमाडौँ । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत भदौ ३१ गतेदेखि विभिन्न माग राखी चिकित्सकहरू कामबाट विमुख भएको अवस्थामा पनि कलेज प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै सङ्घले आपत्ति जनाएको छ।
सङ्घका अनुसार कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरू तनावपूर्ण अवस्थाका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने स्थिति छ। उनीहरूको ड्युटी आवर, तलब, भत्तालगायतका सुविधाहरूमा एकरूपता नरहेको र वैज्ञानिक ढङ्गले व्यवस्थापन नगरिएको विज्ञप्तिमा उल्लेख छ।
साथै, आवासीय चिकित्सकहरूमाथि अन्यायपूर्ण रूपमा अनावश्यक कारबाही गर्ने काम भएको र कलेज व्यवस्थापनसँग भएका छलफलमा पनि मागहरूको कुनै सम्बोधन नहुनु खेदजनक रहेको सङ्घको ठहर छ।
सङ्घका अध्यक्ष डा। बद्री रिजाल र महासचिव डा। विश्व राज दवाडीले प्रेस विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकहरूले अगाडि सारेका जायज मागहरू अविलम्ब सम्बोधन गरी समस्या समाधान गर्न कलेज प्रशासनसँग जोडदार माग गरिएको छ।
मागहरूको उचित सम्बोधन नभएमा कडा कदम अपनाउन बाध्य हुने चेतावनीसमेत नेपाल चिकित्सक सङ्घले दिएको छ।




