Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अभियन्ता युनिसाको हारगुहार : ‘के मैले बाँचेर गल्ती गरेँ ?

अभियन्ता युनिसाको हारगुहार : ‘के मैले बाँचेर गल्ती गरेँ ?

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । अदालतबाट मुद्दा जितेको एक वर्ष बितिसक्दा पनि फैसला कार्यान्वयन हुन नसकेको र उल्टै आफू र आफ्ना नाबालक सन्तानमाथि ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक अभियन्ता युनिसा भट्टराई कार्कीले न्याय र सुरक्षाको माग गरेकी छन्।

    महिला तथा बालबालिकाको अधिकार क्षेत्रमा क्रियाशील ‘परिवर्तनका लागि एकता’की संयोजक तथा ‘आवास फाउन्डेसन’की वरिष्ठ उपाध्यक्षसमेत रहेकी युनिसा 'सपना कार्की' नामले परिचित छिन् । उनले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफूमाथि विगत एक दशकदेखि भइरहेको घरेलु हिंसा, आर्थिक शोषण र हाल फैसला कार्यान्वयनका क्रममा भइरहेको सांघातिक आक्रमणको नालीबेली प्रस्तुत गरिन्।

    images

    आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन नै जोखिममा परेको भन्दै उनले जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग तथा गृह मन्त्रालयसमक्ष तत्काल निष्पक्ष छानबिन र शान्ति सुरक्षाको माग गरेकी छन्।

    युनिसाले कक्षा १० मा अध्ययनरत छँदा १६ वर्षकै उमेरमा सुनसरीको बर्जु गाउँपालिका–४ (साबिक अमडुवा–५) का कृष्णबहादुर कार्कीसँग प्रेम विवाह गरेकी थिइन् । विवाहपछि सुरुवाती दिनदेखि नै श्रीमानको विवाहेत्तर सम्बन्धका कारण पारिवारिक कलह सुरु भएको थियो।

    पहिलो सन्तान (छोरी) जन्मिएपछि परिवारको चरम उपेक्षा र आर्थिक अभावका कारण बच्चा गम्भीर कुपोषणको सिकार भई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरेर उपचार गराउनुपरेको पीडा उनले सुनाइन् । श्रीमानको विवाहेत्तर सम्बन्धको विरोध गर्दा आफूमाथि घरेलु हतियारले प्रहार गरी टाउको फुटाइएको स्मरण गर्दै युनिसा पत्रकार सम्मेलनमै धरधरी रोइन्।

    ‘मेरो टाउकोमा अझै पनि ८ वटा टाँका लागेको खत छ । त्यो घाउ १० वर्षअघि मेरै श्रीमान् र परिवारले प्रहार गर्दा लागेको हो । त्यतिबेला दुहबी प्रहरी चौकी पुगे पनि परिवार र माइती पक्षको दबाबमा मिलापत्र गराइएको थियो । तर, त्यो हिंसा कहिल्यै रोकिएन । अझै जारी छ,’ उनले भनिन्।

    प्रहरी अभिलेख अनुसार उनका श्रीमान् कृष्णबहादुर कार्की विगतमा पनि आपराधिक पृष्ठभूमिमा संलग्न थिए । उनी २०६४ चैत २० मा मोटरसाइकल चोरी अभियोगमा थुनिएका थिए । कारागार चलान हुँदा युनिसा स्वयंले धरौटी र कानुनी प्रक्रिया मिलाएर छुटाएकी थिइन्।

    त्यसपछि वैदेशिक रोजगारीका क्रममा कतार पुगेका कृष्णले त्यहाँ ज्यान मारेको अभियोगमा ७ वर्ष जेल परे । उनै श्रीमानलाई कतारको कारागारबाट मुक्त गराउन युनिसाले नै पहल गर्दै २०८० वैशाख २० मा बर्जु गाउँपालिकाबाट सिफारिस गराएकी थिइन् भने सासू सरस्वती कार्कीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष क्षमादानका लागि अपिल पठाएकी थिइन्।

    श्रीमान् ६–७ वर्ष कतारको जेलमा रहँदा युनिसाले विराटनगरमा सिलाइकटाइ, गार्मेन्ट उद्योग र क्याफे सञ्चालन गरेर एकल संघर्ष गर्दै आफ्ना दुई सन्तानको लालनपालन र पढाइ खर्च जुटाएकी थिइन् । तर, जेलमुक्त भएर स्वदेश फर्किएपछि श्रीमान् सम्पर्कविहीन बनेर अर्कैसँग लागेपछि युनिसा अदालतको ढोका ढकढक्याउन बाध्य भएकी थिइन्। 

    ससुरा उदयबहादुर कार्कीसमेत विपक्षी रहेको अंश तथा मानाचामल मुद्दामा सुनसरी जिल्ला अदालतले युनिसाको पक्षमा फैसला गरिसकेको छ । सुनसरी जिल्ला अदालतले २०८० चैत २३ दिएको आदेशानुसार मालपोत कार्यालय इनरुवालाई पत्र पठाई उदयबहादुर कार्कीको नाममा रहेका साबिक अमडुवा–६ र ५ का आधा दर्जन कित्ताका जग्गाहरू रोक्का राखिएको थियो।

    अदालतले बण्डा–अंशचलन अनुसार २०८२ असोज ४ गते महिला सुरक्षाकर्मीसहित अदालतको डोर टोली बण्डा छुट्याउन खटिएको थियो । तर, नापी र जग्गा छुट्याउने क्रममा प्राविधिक त्रुटि औँल्याउँदा जेठानी तारा कार्की, ससुरा उदयबहादुर कार्की, सौजन कार्की, चेतना कार्की र छिमेकी सोनी गुरुङलगायतले युनिसा र उनका माइती पक्ष माथि हातपात तथा गालीगलौज गर्दै आक्रमणको प्रयास गरेका थिए । उनीहरू प्रहरीको सहयोगमा भागेर ज्यान जोगाउन सफल भएका थिए।

    यसअघि बिरामी रहेका हजुरबुबा–ससुराको निधन हुँदासमेत आफूलाई घरभित्र पस्न नदिइएको र अन्तिम पटक खोलामा मात्र मुख हेर्न दिइएको भन्दै उनले गुनासो गरिन् । युनिसाले आफ्नी हजुरआमा–सासू चेतना कार्कीको राजनीतिक पहुँचकै आधारमा एमाले नेता परशुराम बस्नेतको नाम लिँदै धाकधम्की दिने गरेको आरोप लगाइन्। आफूविरुद्ध स्थानीय प्रशासन र प्रहरी चौकीमा १० जनाको समूह बनाएर सुनियोजित रूपमा झुटा उजुरी दर्ता गरिएको बताइन्।

    स्थानीय प्रशासन, वडा कार्यालय र प्रहरी चौकीसमेत प्रभावमा परेर फैसला कार्यान्वयन गराउन हिच्किचाएको र उल्टै पीडक पक्षलाई संरक्षण दिएको उनको आरोप छ । अत्यधिक मानसिक तनाव र असुरक्षाका कारण सामाजिक सञ्जालमा भिडियोमार्फत रोएर न्याय मागेकी युनिसाले पत्रकार सम्मेलनमा पनि आँसु थाम्न सकिनन्।

    ‘विगत ८–१० वर्षदेखि मलाई समाजले एउटा स्ट्रङ लेडीको ट्याग दिएको थियो । कसैको एक रुपैयाँ नलिई आफ्ना सन्तान पालेर बसेँ । तर, अदालतबाट बकाइदा फैसला जितेर जाँदासमेत ममाथि अश्लील गाली बर्साउँदै कुटपिट गरिन्छ । समाज, कानुन र प्रशासनलाई मेरो एउटै प्रश्न छ– के म बाँचेर गल्ती गरेकी हुँ कि सही भएर ? जबसम्म महिला मर्दैन, तबसम्म यो देशमा न्याय पाइँदैन ?,’ उनले आफूले उठाएका विषय र प्रमाण गलत सावित भए कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै भनिन्, ‘यदि मेरा दाबी गलत छन् भने म सजाय भोग्न तयार छु । तर, शक्ति र पैसाको भरमा म एकल महिलाको कानुनी अधिकार नखोसियोस् । निष्पक्ष छानबिन होस् र म तथा मेरा नाबालक सन्तानलाई बाँच्न पाउने वातावरण दिइयोस् । यदि ममाथि कुनै अप्रिय घटना घट्यो वा मैले प्राण त्याग्नुपर्ने अवस्था आयो भने, त्यसको सम्पूर्ण जिम्मेवारी मेरो परिवार र मलाई प्रताडित गर्नेहरूले लिनुपर्नेछ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार