काठमाडौँ । सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ।
संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताएका हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नागरिकको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद मल्लका अनुसार सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप बढेको छ। पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्र ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ।
परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा रोग देखिएकाले वास्तविक सङ्क्रमितको सङ्ख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ। स्थानीय तहले रोग नियन्त्रण र परीक्षणका लागि आवश्यक सहयोग माग गर्दै सङ्घीय र प्रदेश सरकारलाई पत्राचार गरेको महिना दिन बितिसक्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन। परीक्षण किटको अभावमा समयमै रोग पहिचान गर्न नसक्दा बिरामीहरू थप जोखिममा परेको उनले बताए।
संसद्मा बोल्दै उनले भने, ‘सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस सङ्क्रमणका कारण ७ जनाको दुःखद निधन भएको छ। दार्मा, कुमाख र बाघचौरमा सङ्क्रमण बढिरहेको छ। परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशतमा सङ्क्रमण देखिनुले अवस्था गम्भीर छ भन्ने देखाउँछ। पर्याप्त परीक्षण किट नहुँदा वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। कर्णाली र सुदूरपश्चिम प्रदेश यसबाट बढी जोखिममा छन्।’
उनले तत्काल पर्याप्त परीक्षण किट, औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गर्दै थपे, ‘जोखिमयुक्त क्षेत्रमा घरदैलो स्वास्थ्य परीक्षण, जनचेतना अभियान र स्वास्थ्यकर्मीको अभिमुखीकरण सञ्चालन गरियोस्। संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरी सङ्क्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चालियोस्।’
नेपालमा स्क्रब टाइफसको सङ्क्रमण डरलाग्दो रूपमा वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा ९,२४३ रहेको सङ्क्रमितको सङ्ख्या आव २०८१/८२ मा २५,४९४ पुगेको छ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ। स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहेको स्मरण गराउँदै सांसद मल्लले तत्काल औषधि, किट र स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरे।
उनले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वयमा जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण र जनचेतना अभियान तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।



