काठमाडौंँ । बडादसैँ र तिहारको उल्लासले यतिबेला स्वदेश तथा विदेशमा रहेका प्रत्येक नेपालीको घरआँगनलाई छुने बेला हो।
रोजगारी, अध्ययन वा अन्य विभिन्न सिलसिलामा संसारका कुनाकाप्चामा छरिएर रहेका लाखौँ नेपाली वर्ष दिनको चाड मनाउन, मान्यजनको हातबाट टीका थाप्न र आफ्नो जन्मभूमि फर्कनका लागि महिनौँ अघिदेखि तयारी गरिरहेका हुन्छन्।
वायुसेवा कम्पनीहरूका लागि यो समय भनेको वर्षभरिको सबैभन्दा ठुलो व्यापार गर्ने, नाफा कमाउने र यात्रुहरूलाई उत्कृष्ट सेवा दिएर आफ्नो साख बढाउने मुख्य ‘पिक सिजन’ हो । तर यही बेला नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भने थला परेको छ।
निगमका सबैभन्दा धेरै आम्दानी गर्ने र लामो दूरीमा उडान भर्ने दुवै वाइडबडी जहाजहरू एकैपटक विदेशी भूमिमा ग्राउन्डेड हुन पुगेका छन् । एकातिर जहाजहरू मर्मतको अभावमा थन्किएर बस्दा सरकारी स्वामित्वको निगमले दैनिक करोडौँ रुपैयाँको आर्थिक घाटा बेहोरिरहेको छ भने अर्कोतिर महिनौँ अघिदेखि महँगो मूल्य तिरेर टिकट काटेका सयौँ यात्रुहरू चाडबाडको मुखमा गन्तव्यमा पुग्न नपाएर अलपत्र परेका छन्।
दुवै वाइडबडी ग्राउन्डेड, न्यारोबडीको भरमा अन्तर्राष्ट्रिय उडान
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान भर्न जम्मा चार वटा मात्र एयरबस जहाजहरू रहेका छन् । यीमध्ये दुई वटा साना अर्थात् न्यारोबडी जहाज हुन् भने दुई वटा ठुला अर्थात् वाइडबडी ‘ए–३३०’ जहाज छन् । निगमको अन्तर्राष्ट्रिय उडानको मुख्य मेरुदण्डका रूपमा रहेका यी वाइडबडी जहाजहरूले नै लामो दूरीका आकर्षक गन्तव्यहरूमा नेपालको उपस्थिति जनाउँदै आएका थिए।
निगमले यी जहाजहरूमार्फत काठमाडौँबाट जापानको नारिता, संयुक्त अरब इमिरेट्सको दुबई, कतारको दोहा, साउदी अरब, भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, चीनको ग्वान्झाउ, हङकङ, थाइल्यान्डको बैंकक र मलेसियाको क्वालालम्पुरलगायत महत्त्वपूर्ण गन्तव्यहरूमा नियमित उडान गर्दै आएको थियो।
तर व्यवस्थापकीय कमजोरी र पूर्वतयारीको अभावका कारण यतिबेला निगमका दुवै वाइडबडी जहाजहरू सञ्चालनविहीन अवस्थामा पुगेका छन् । एउटा जहाज ( वाइडबडी अन्नपूर्ण) जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ भने अर्को जहाज (वाइडडी मकालु) नियमित ठुलो मर्मतसम्भार (सी–चेक) का लागि इटाली पुगेर उतै अड्किएको छ।
दुईवटा ठुला जहाज एकैपटक ग्राउन्डेड भएपछि यतिबेला नेपाल एयरलाइन्सको सम्पूर्ण अन्तर्राष्ट्रिय उडानको अभिभारा केवल दुईवटा साना न्यारोबडी जहाजको काँधमा आइपरेको छ । नजिकका दूरीमा मात्र उडान भर्न सक्ने न्यारोबडी जहाजहरूले वाइडबडीको अभाव पूर्ति गर्न नसक्दा निगमको सम्पूर्ण अन्तर्राष्ट्रिय उडान तालिका भद्रगोल बनेको छ।
जापानको नारिता उडानका लागि गएको अन्नपूर्ण वाइडबडी जहाजको इन्जिनमा अचानक प्राविधिक समस्या देखिएपछि अघिल्लो सोमबारदेखि उक्त जहाज नारिता विमानस्थलमै ग्राउन्डेड हुन पुगेको हो । निगमका प्राविधिक प्रवक्ता तथा इन्जिनियरिङ मेन्टेनेन्स विभागका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनले दुवै वाइडबडी जहाज ग्राउन्डेड भएको सुनाए।
‘नारिता उडानमा गएको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि गत सोमबारदेखि उक्त जहाज त्यहीँ ग्राउन्डेड भएको हो,’ उनले थपे, ‘अर्को वाइडबडी जहाजलाई सी–चेक (नियमित ठुलो मर्मतसम्भार) का लागि अघिल्लो महिनाको ९ अगष्टमै इटाली पठाइएको थियो । तर पनि इटाली पठाइएको जहाज मर्मत सकेर सञ्चालनमा आइसकेको छैन,’ उनले भने।
सी–चेक भनेको जहाजको सम्पूर्ण प्रणालीहरूको विस्तृत परीक्षण गर्ने जटिल प्रक्रिया हो, जसमा सामान्यतया केही समय लाग्ने गर्छ । तर इटाली पठाइएको यत्रो समय जाँदा पनि सञ्चालनमा आउन सकेको छैन । मुख्य सिजन सुरु हुनुभन्दा ठीक अगाडि लामो समय लाग्ने मर्मतका लागि जहाज पठाउनु र तोकिएको समयमा मर्मत सम्पन्न गराएर ल्याउन नसक्नुले निगमको फितलो व्यवस्थापन भन्दै आलोचना सुरु भएको छ।
पुनका अनुसार जापानबाहेकका अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा भने उडान तालिका (स्केड्युल) परिमार्जन गरेर दुई वटा न्यारोबडी जहाजमार्फत यात्रुहरूलाई सेवा दिइरहेको भए पनि सीमित जहाजबाट सेवा दिनुपर्दा उडान तालिका विग्रको उनले स्वीकार गरे।
कहिले चल्छ दुवै वाइडबडी ?
जहाजमा प्राविधिक समस्या आउनु नियमित प्रक्रिया भए पनि निगमसँग पर्याप्त जहाज नहुँदा सानो समस्याले पनि ठुलो असर पर्ने गरेको निगमको भनाइ छ । प्रवक्ता पुन भन्छन्, ‘कतार एयरवेज जस्ता कम्पनीसँग धेरै जहाज हुन्छन्, एउटामा प्राविधिक समस्या आउँदा तत्काल अर्को विकल्प हुन्छ र यात्रुलाई थाहा नै हुँदैन । तर, हामीसँग सीमित सेक्टर र जम्मा चारवटा मात्र जहाज छन् । एउटै जहाज मात्र ग्राउन्डेड हुँदा पनि हाम्रो उडानमा प्रत्यक्ष असर देखिन्छ र बाहिर धेरै चर्चा हुन्छ,’ उनले प्राविधिक समस्या सबै वायुसेवा कम्पनीका जहाजमा आउने भए पनि निगमको जहाज सङ्ख्या कम भएकाले धेरै समस्या देखिएको बताए।
जापानको नारितामा रोकिएको जहाज आजैबाट मर्मतसम्भार सकिएर सञ्चालनमा आउने सम्भावना रहेको पुनले जानकारी दिए । त्यसैगरी इटालीमा ’सी–चेक’ का लागि राखिएको अर्को वाइडबडी जहाज पनि यही चलिरहेको हप्ताभित्रै नेपाल आइपुग्ने तयारीमा छ । यी दुवै जहाज उडानमा फर्किएपछि निगमको अन्तर्राष्ट्रिय उडान पुनः साविककै अवस्थामा सुचारु हुने निगमले जनाएको छहुन्छन्।
करोडौँको क्षति, गुम्दैछ भरोसा
दुवै वाइडबडी जहाजहरू ग्राउन्डेड हुँदा नेपाल वायुसेवा निगमले ठुलो आर्थिक क्षति बेहोर्दै आएको छ । मुख्य कमाइ गर्ने सिजनमै जहाज थन्किँदा निगमको आर्थिक मेरुदण्ड नै भाँचिने अवस्था आएको निगमकै एक वरिष्ठ प्रशासनिक कर्मचारी अनुसार सुनाउँछन् । ती कर्मचारीका अनुसार जापानको नारिता उडान गरिरहेको निगमको वाइडबडी ‘ए–३३०’ जहाज २७४ सिट क्षमताको अत्यन्तै ठुलो र सुविधासम्पन्न जहाज हो।
सामान्य अवस्थामा निगमले जापानमा सातामा दुई वटा मात्र उडान गर्दै आएको भए पनि दसैँ, तिहार जस्ता चाडपर्वको ‘पिक सिजन’ सुरु भएपछि सातामा ४ वटासम्म उडान सुरु हुँदै थियो । ‘एउटा वाइडबडी जहाजले भरिभराउ यात्रु बोकेर एकपटक जापान गएर फर्किँदा निगमलाई औसतमा करिब ६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष आम्दानी हुने गर्छ।
समग्रमा हिसाब गर्दा एउटा वाइडबडी जहाजले निगमका लागि दैनिक करिब २ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने क्षमता राख्छ,’ उनी थप्छन्, ‘नारितामा रोकिएको अन्नपूर्ण र इटालीमा रोकिएको मकालु वाइडबडी जहाज ‘सी–चेक’ का लागि अघिल्लो महिनाकै ९ तारिखमा गएको हो । अब निगमले झन्डै डेढ महिजामा कति गुमायो होला ?’ ती कर्मचारीले सुनाए।
उनका अनसार इटालीमा रहेको मकालुले मात्रै झन्डै ५५ करोड बढी रुपैयाँ आम्दानी गुमाइसकेको छ । त्यस्तै नारितामा एक सातासम्म ग्राउन्डेड हुँदा अन्नपूर्णले करिब १२ करोड बढी आम्दानी गुमाइसकेको छ । यी दुई वटा जहाज थन्किँदा मात्रै निगमले समग्रमा झन्डै दर्जनभन्दा बढी महत्त्वपूर्ण उडानहरू रद्द गर्नुपरेको छ।
निगमको आफ्नै आधिकारिक तथ्याङ्क अनुसार गत जेठ र असार महिनाको दुई महिनाको अवधिमा मात्रै काठमाडौँबाट जापानको नारिताका लागि ६ हजार २०९ जना यात्रुले यात्रा गरेका थिए।
त्यस्तै सोही अवधिमा नारिताबाट काठमाडौँ फर्कने यात्रुको सङ्ख्या ५ हजार ४८३ रहेको थियो । काठमाडौँबाट नारिता गएका ती ६ हजार २०९ यात्रु र उनीहरूसँगै गएको कार्गो (सामान) ढुवानीबाट मात्रै निगमले जेठ र असार महिनामा कुल ४६ करोड ९९ लाख ८५ हजार ६ सय ३८ रुपैयाँ आम्दानी गर्न सफल भएको थियो।
त्यसैगरी नारिताबाट काठमाडौँ आएका ५ हजार ४८३ यात्रु र उनीहरूको कार्गोबाट सोही दुई महिनाको अवधिमा निगमले थप ३२ करोड ८७ लाख ४६ हजार ५० रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक क्षतिसँगै निगमले यात्रुको भरोसा र विश्वसनीयता गुमाउँदै गएको देखिन्छ।



