काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले यातायात क्षेत्रको बेथिति र चालकहरूको मनोसामाजिक अवस्थाबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्म्कि समयमा सचेतक धितालले सार्वजनिक यातायात क्षेत्रमा देखिएका गम्भीर समस्या र त्यहाँ कार्यरत चालकहरूको सुरक्षाबारे अध्ययन गर्न सरकारलाई आग्रह गरेकी हुन् । उनले पछिल्लो समय त्रिपुरेश्वर लगायतका स्थानमा भएका घटनाहरूले यातायात क्षेत्रको बेथिति र चालकहरूको मनोसामाजिक अवस्थाको उजागर गरेको बताइन्।
सांसद धितालले केही समय अघि त्रिपुरेश्वरमा सवारी चालक अर्जुन दोङको बसभित्रै भएको दुखद निधनको घटनाले यातायात क्षेत्रको सुरक्षा र ट्राफिक प्रहरीको नियमन प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरेको बताइन् । उनले सो घटनामा ज्यान गुमाएका चालकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिन्।
उनले ट्राफिक प्रहरीको नियमन शैली कत्तिको व्यावहारिक छ भन्ने प्रश्न गरिन्। ‘ट्राफिक प्रहरी र चालकबीचको सम्बन्ध मर्यादित छ कि छैन,’ उनले भनिन् । नियमनकारी निकायको कार्यशैलीप्रति उनको असन्तुष्टि छ । यातायात चालकहरूको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल नराखी लामो समय काममा खटाउने प्रवृत्तिले उनीहरूमा तनाव र आक्रोश पैदा गर्ने गरेको बताइन्।
उनले भनिन्, ‘कति कमायो भन्ने मात्रै प्राथमिकतामा राख्दा चालकहरूको मनोसामाजिक अवस्था बिग्रिरहेको छ, यसमा सम्बन्धित व्यवसायी र राज्यको ध्यान खोइ?’
सडकमा यात्रु र चालक दुवैको सुरक्षालाई प्राथमिकतामा राखेर वैज्ञानिक नियमन गर्नुपर्नेमा उनले जोड दिइन्। ‘खाली चालकलाई मात्रै दोष थोपारेर समस्या समाधान हुँदैन,’ उनले थपिन्।
उनले लाइसेन्स वितरण प्रक्रियादेखि यातायात व्यवसायीको नियमनसम्मको कार्यमा सरकारले पुनरावलोकन गर्नुपर्ने बताइन् । माग गरिन्।
सचेतक धितालले के यातायात व्यवसायी र मजदुरहरूको सामाजिक सुरक्षा कोषको अवस्थाबारे सरकारलाई जानकारी छ ? के चालकहरूले आफ्नो हकहितको प्रत्याभूति पाएका छन् ?’ भन्दै प्रश्न गरिन्।



