काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टीविरुद्ध छरिएका भ्रमहरूलाई चिरेर अघि बढ्नुपर्ने बताएका छन्। सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरूले फैलाएको भ्रम र कुप्रचारको पछि नलाग्न पार्टी पंक्तिलाई सचेत गराएका हुन्।
सम्बोधनका क्रममा ओलीले जनता एमालेविरुद्ध केही अलमलिएको र भ्रममा परेको उल्लेख गर्दै भने, ‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ। जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने र कुप्रचारलाई मलजल गर्ने काम हाम्रो पंक्तिले गर्नु हुँदैन।’ उनले विरोधीले वाहीवाही गर्यो भन्दैमा पार्टीका नेता-कार्यकर्ता बहकिन नहुने तर्क गरे।
पार्टीभित्र पछिल्लो समय देखिएको अनुशासनहीनताप्रति कडा असन्तुष्टि जनाउँदै ओलीले आफ्ना असन्तुष्टि सामाजिक सञ्जाल र मिडियामा नपोख्न चेतावनी दिए। ‘पार्टीभित्रका बहस कमिटीभित्रै हुनुपर्छ। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्दै हिँड्ने को न्यायाधीश हो ?’ भन्दै उनले प्रश्न गरे। सामाजिक सञ्जालमा सांकेतिक र आपत्तिजनक स्टाटस लेख्ने तथा पार्टीको प्रतिष्ठा कमजोर पार्ने प्रवृत्तिले विपक्षीलाई मात्र फाइदा पुग्ने उनको भनाइ थियो। महाधिवेशनले लोकतान्त्रिक ढंगले नीति, विचार र नेतृत्व चयन गरिसकेकाले कसैले पनि अराजकता फैलाउन नपाउने उनले स्पष्ट पारे।
सम्बोधनका क्रममा ओलीले सरकारको चर्को आलोचना समेत गरे। उनले सरकार पूर्ण रूपमा असफल, अक्षम र अकर्मण्य भएको आरोप लगाए। बाढीपहिरो विपद्का बेला बेलीब्रिज नै नबनी एआईबाट बनाइएको नक्सा र फोटो सार्वजनिक गरेर राज्यस्तरबाटै अफवाह फैलाइएको उनले दाबी गरे।
त्यसैगरी, देश, लोकतन्त्र, संविधान र एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गर्दै ओलीले एमाले राष्ट्रियताको पहरेदार भएकै कारण प्रहारको मुख्य निसाना बनेको बताए। सरकार बन्नेबित्तिकै प्रतिशोधपूर्ण ढंगले बिनाकारण र बिनाकसुर पक्राउ पुर्जी जारी गर्ने, नेताहरूलाई हिरासतमा राख्ने र वाक् स्वतन्त्रतामाथि प्रहार गर्ने काम भइरहेको भन्दै उनले यस्ता गतिविधि अधिनायकवादतर्फको यात्रा भएको आरोप लगाए।
प्रतिकूल परिस्थिति, घेराबन्दी र फाँसीवादी हमलाको सामना गर्न पार्टी एकढिक्का र अनुशासित हुनुपर्नेमा जोड दिँदै ओलीले बैठकमा खटिएका स्वयंसेवकहरूलाई तटस्थ र निष्पक्ष ढंगले भूमिका निर्वाह गर्न निर्देशन दिए।



