Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा

भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। आगजनीपछि बन्द रहेको स्टोर पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो।

    भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ।

    images

    गत वर्षको आगजनीबाट क्षति पुगेका भाटभटेनीका १२ स्टोरमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दमक र हेटौँडाका स्टोर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् । ती स्टोरमा संरचनागत काम, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ।

    आगजनीबाट ठूलो क्षति भए पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ । कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । साथै, गत वर्ष भदौ २४ गतेको घटनापछि दसैँमा उपलब्ध गराइने बोनससमेत कटौती नगरिएको कम्पनीले जनाएको छ।

    आगजनीपछि पूर्णरूपमा जलेका स्टोरमध्ये कोटेश्वरस्थित स्टोर पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको थियो। कम्पनीले चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै आगजनीबाट क्षतिग्रस्त स्टोरहरू क्रमिक रूपमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ।

    यसैगरी काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाटभटेनीले ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको कम्पनीले जनाएको छ । नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा पाऊन् भन्ने उद्देश्यले अस्पतालका लागि सहयोग गरिएको कम्पनीको भनाइ छ।

    कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ । साथै, पुनः सञ्चालनमा सहयोग गर्ने कर्मचारी, ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार