काठमाडौँ । नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ । आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिए।
उनका अनुसार महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादलले मस्यौदा गरेको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको छ।
उनले पार्टीको विशेष महाधिवेशन नगर्ने तर विधान महाधिवेशनका बारेमा छलफल गरेर नियमित विधान अधिवेशनको विषयमा जान सकिने विषय एकीकृत प्रतिवेदनमा उल्लेख गर्ने सहमति बनेको बताए । ‘उठेका सबै कुरालाई तीन जना नेताले एकीकृत प्रस्ताव ल्याउने र साझा प्रतिवेदन पास हुन्छ’, बस्नेतको भनाइ छ।
उनका अनुसार नेता प्रदीप ज्ञवालीले बनाएको प्रतिवेदनलाई महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनमा समूहबाट आएका सुझाव समेट्ने सहमति कार्यदलमा भएको पनि बताए । उनले ७० बर्षे उमेर हद र २ कार्यकालबारे भोलिका दिनमा एजेन्डा बन्न सक्ने तर नियमित विधान महाधिवेशनबाटै त्यसको छिनोफानो हुने बताए।



