काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानको नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ। बद्रिनारायण धाममा आयोजित कार्यक्रममा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरिएको छ । जसअनुसार प्रतिष्ठानको अध्यक्षमा डा. विष्णु खनाल र महासचिवमा विनोदबाबु ढकाल निर्वाचित भएका छन्।
यसैगरी नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ऋषभदेव भट्टराई, भवानी देवकोटा, राजन पुरी, भुवन गिरी, गोपाल न्यौपाने, बासु कार्की र रमेश पाठक चयन भएका छन्।
प्रतिष्ठानको सचिवमा डा. रामहरि ढकाल, बद्रि पोखरेल र भगवती खड्का निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी भीमसेन पोखरेलले पाएका छन्। बाँकी पदाधिकारी तथा सदस्य कार्यसमितिमा निर्वाचित र विधानबमोजिम मनोनयन गरिएका छन्।
प्रतिष्ठानको विधानअनुसार संस्थाको प्रमुख संरक्षकमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल रहेका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष जयराम लामिछानेलाई चयन गरिएको छ।
संस्थाका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको शुभकामना दिँदै प्रतिष्ठानका लक्ष्य पूरा गर्न एकजुट भएर लाग्न आग्रह गरे।
महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। मन्त्री प्रजापतिले नेपालको एकमात्र सनातनी मान्यता बोकेको बद्रिनारायण मन्दिर सम्पूर्ण नेपालीको आस्थाको धरोहर रहेको चर्चा गर्दै यसको संरक्षणमा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको सराहना गरे।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले नारायण पोखरेल प्रतिष्ठान मात्र नभएर सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताए। उनले प्रतिष्ठानले नेपाली समाजको पहिचान र गरिमा जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।
प्रदेशसभा सदस्य केशव पोखरेलले प्रतिष्ठानको अभियान र सक्रियताको प्रशंसा गरे। उनले प्रतिष्ठानको सत्प्रयास र अभियानले नागार्जुन नगरपालिकालाई मात्र नभएर सिङ्गो देशकै लागि नमुना धामको रूपमा पहिचान दिलाउन सफल भएको बताए।
नवनिर्वाचित अध्यक्ष डा. विष्णु खनालले आफ्नो आगामी कार्यकाललाई अझ उत्कृष्ट र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको नीति, नियम र स्थापित परिधिभित्र रहेर प्रतिष्ठानलाई सामाजिक तथा धार्मिक क्षेत्रमा अझ अगाडि बढाउने संकल्प गरे।
साथै डा. खनालले नेपालका प्रथम धार्मिक सहिद नारायण पोखरेलको कृतित्व र योगदानलाई समाजमा सधैँ जीवित राख्ने प्रतिबद्धता जनाए। आदरणीय गुरु दीनबन्धु पोखरेलको अभियानलाई नवीनतम ढंगबाट अगाडि बढाउने बताउँदै उनले २१औँ शताब्दीमा भौतिकवाद र आध्यात्मवादको फ्युजन (मिश्रण) बाट मात्रै समाजमा सनातनी संस्कारको विकास गर्न सकिनेमा जोड दिए।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ऋषभदेव भट्टराईले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जयराम लामिछानेले गरेका थिए।
अधिवेशनको समापन सत्रमा प्रतिष्ठानले बद्रिनारायण धाममा उपस्थित भई नवौँ अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण भक्तजन, अतिथि तथा सरोकारवालालाई आभार एवं धन्यवाद ज्ञापन गरेको छ।



