काठमाडौँ । बारामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिमरास्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सिमरा उपमहानगरपालिका–२ निवासी आयुष राईलाई पक्राउ गरेको हो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार राईले शनिबार साँझ साढे ५ बजे सिमरा उपमहानगरपालिका–२ निवासी खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए । घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राईलाई धानबारीमा लुकेको अवस्थामा शनिबार राति नै पक्राउ गरिएको हो। राईलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



