Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आफैँले कार्यादेश बनाए, आफैँले दरखास्त दिए : तिमसिनालाई नै सीईओ बनाउने तयारी

आफैँले कार्यादेश बनाए, आफैँले दरखास्त दिए : तिमसिनालाई नै सीईओ बनाउने तयारी

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमतको सरकार गठन भएपछि सूचना प्रविधिसम्बन्धी आफ्नै सफ्टवेयर कम्पनी बनाउने निर्णय भएको छ।

    यसका लागि सरकारले आवश्यक कार्यादेश बनाउन सूचना प्रविधि अध्ययन कार्यदल गठन गर्‍यो । कार्यदलको गत जेठ १२ गतेको निर्णयबमोजिम दमक नगरपालिका-१०, झापाका किरण तिमसिनालाई संयोजक तोकिएको थियो

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि तथा व्यवस्थापन शाखाका कम्प्युटर इन्जिनियर बोधराज बरालले हस्ताक्षर गरी तिमसिनालाई दिएको पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८३/०२/१२ को सूचना प्रविधि अध्ययन कार्यदलको निर्णयबमोजिम तपाईंलाई उक्त अध्ययन कार्यदलको स्वीकृत कार्यशर्तमा भएको व्यवस्थाबमोजिम सूचना प्रविधि शासन तथा कार्यान्वयनसम्बन्धी तोकिएको कामकाज गर्ने गरी गठन गरिएको उपसमितिको संयोजक (अवैतनिक) तोकिएको व्यहोरा अनुरोध छ।’

    तिमसिना नेतृत्वको कार्यदलले बनाएको कार्यादेशअनुसार सरकारले ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ बनाउने निर्णय लियो । उक्त केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाहिरबाट विशेषज्ञ ल्याएर बनाउने कार्यादेश सोही कार्यदलले बनाएको थियो । कार्यदलको कार्यादेशअनुरूप सरकारले केन्द्रको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गर्‍यो । तर, उक्त पदका लागि तिनै कार्यादेश बनाउने तिमसिनाले समेत दरखास्त दिए । अहिले सर्टलिस्टमा परेका ६ जनाको सूचीमा उनी पनि अटाएका छन्।

    सर्टलिस्टमा तिमसिनासहित नारायणप्रसाद घिमिरे (टोखा–३, काठमाडौँ), ध्रुव ज्ञवाली (रुरुक्षेत्र–४, गुल्मी), डा. भोजराज घिमिरे (बुढानीलकण्ठ–१२, काठमाडौँ), ई. निराजन पन्थी (बुढानीलकण्ठ–६, काठमाडौँ) र श्रीधर मरासिनी (बुढानीलकण्ठ–४, काठमाडौँ) रहेका छन्।

    सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता शुक्रबार सम्पन्न भएको छ। त्यही अन्तर्वार्ताका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरिने र तीमध्ये एक जना प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुने कम्प्युटर इन्जिनियर बरालले रातोपाटीलाई जानकारी दिए। तिमसिनाको वर्तमान सरकार र सत्तारूढ दल रास्वपासँग राम्रो सम्बन्ध रहेकाले उनैलाई सीईओ बनाउने तयारी रहेको निकट स्रोतले जानकारी दियो।

    ‘उहाँले पहिलादेखि सरकारलाई सहयोग पनि गरिरहनुभएको छ, योग्य व्यक्ति पनि हो’, स्रोतले भन्यो, ‘सकभर उहाँलाई नै बनाउन पाए हुन्थ्यो भन्ने छ।’

    सरकारले अहिले सञ्चालन गरिरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको खाका तयार पार्ने टोलीमा पनि तिमसिनाले काम गरेका थिए । उक्त उपहार कार्यक्रमको एप बनाउने भूमिकामा समेत उनी रहेको स्रोतको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार