काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ। सामान्य करेक्सनपछि अघिल्लो दिनबाट सम्हालिएको बजारले आज पनि सोही वृद्धि यात्रालाई निरन्तरता दिएको छ।
शुक्रबार नेप्से परिसूचक २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेसँगै ठुला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ५.३२ अङ्कले बढेको छ । यस्तै, फ्लोट इण्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अङ्कले उकालो लागेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार भने कारोबार रकम बढेर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ। ३४५ वटा कम्पनीको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूह घटेका छन्। बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिँदा परिसूचक १.५९ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १.५ प्रतिशतले बढेको छ । वित्त (फाइनान्स) र अन्य उपसमूहको परिसूचक भने सामान्य अङ्कले घटेर बन्द भएका छन्।
स्नो रिभर्स लिमिटेडको सेयर मूल्य१३.६६ प्रतिशतले बढेको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । तर हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य भने १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंकको मात्रै ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँभन्दा माथि रहेको छ।



