काठमाडौं । रोजगारी र शैक्षिक अवसरको खोजीमा गत एक वर्षमा साढे आठ लाख युवाले देश छोडेका छन् ।
आर्थिक वर्ष २०८०–८१ मा वैदेशिक रोजगारी र अध्ययनका लागि आठ लाख ५० हजारभन्दा धेरै नेपाली युवाले मुलुक छोडेको तथ्यांकले देखाएको छ ।
यसभन्दा अघिल्लो वर्ष झन्डै नौ लाख युवाले वैदेशिक रोजगारी र अध्ययनका लागि मुलुक छोडेका थिए । यसले मुलुकमा आर्थिक अवसरहरू सीमित रहेको संकेत गर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष सात लाख ४१ हजार २९७ जना नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिएका (पुनः स्वीकृति समेत) थिए ।
यो अघिल्लो वर्षका तुलनामा केही थोरै हो । आव २०७९–८० मा वैदेशिक रोजगारीका लागि सात लाख ७१ हजार ३०० भन्दा बढी युवाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए ।
यसमा कामका लागि भारत गएका र अवैध तरीकाले वैदेशिक रोजगारीमा गएकाको संख्या भने जोडिएको छैन ।




