Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बीमा क्षेत्रमा २३ अर्बभन्दा बढीको दाबी, ८ अर्ब ८२ करोड भुक्तानी

बीमा क्षेत्रमा २३ अर्बभन्दा बढीको दाबी, ८ अर्ब ८२ करोड भुक्तानी

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्रमा २३ अर्ब रुपैयाँभन्दा बढीको क्षति दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले दिएको विवरण अनुसार आन्दोलनका कारण सिर्जित परिस्थितिका आधारमा कुल ३ हजार ३९० वटा दाबीमार्फत २३ अर्ब १९ करोड २८ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको हो।

    यसरी परेका दाबीमध्ये बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित हालसम्म ८ अर्ब ८२ करोड ४९ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्, जुन कुल माग गरिएको रकमको ३८ प्रतिशतभन्दा बढी हो।

    images

    सवारीसाधन र आर्थिक दायित्वका हिसाबले भौतिक सम्पत्तिमा सबैभन्दा बढी क्षति पुगेको देखिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट सम्पत्ति बीमातर्फ ७२२ वटा दाबीमार्फत १८ अर्ब ६९ करोड ७१ लाख ६६ हजार रुपैयाँ माग भएकोमा कम्पनीहरूले ६ अर्ब ७ करोड ३५ लाख २४ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

    त्यसैगरी मोटर बीमातर्फ सबैभन्दा धेरै २ हजार ३७२ वटा दाबी परेका छन्, जसअन्तर्गत ३ अर्ब ४९ करोड ७० लाख १४ हजार रुपैयाँ माग भएकोमा २ अर्ब ४७ करोड ७१ लाख ६५ हजार रुपैयाँ फर्स्योट भइसकेको छ । यसबाहेक इन्जिनियरिङ तथा ठेकदार जोखिम बीमातर्फ २२७ दाबीबापत ५२ करोड ३९ लाख ८२ हजार, परिवहन बीमातर्फ १२ दाबीबापत १ करोड ६२ लाख ४१ हजार तथा अन्य विविध बीमातर्फ ५७ दाबीबापत ४५ करोड ८४ लाख ४४ हजार रुपैयाँको दाबी परेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।

    कम्पनीगत आधारमा सबैभन्दा ठुलो दाबी रकम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ । सिद्धार्थ प्रिमियरमा ४२१ वटा दाबीबापत ५ अर्ब ४९ करोड २७ लाख ३० हजार रुपैयाँ माग भएकोमा कम्पनीले २ अर्ब ७९ करोड ८० लाख ७३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने दि ओरिएन्टलमा १०५ दाबीबापत ५ अर्ब ४३ करोड ८० लाख ६८ हजार रुपैयाँ दाबी परेको छ।

    यस्तै संख्याका हिसाबले सबैभन्दा बढी शिखर इन्स्योरेन्समा ४५० वटा दाबीमार्फत २ अर्ब ७४ करोड ११ लाख ३८ हजार रुपैयाँ दाबी परेकोमा १ अर्ब ४७ करोड ५६ लाख ३२ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

    यसैगरी आइजीआई प्रुडेन्सियलमा २ अर्ब ८५ करोड २५ लाख, नेकोमा १ अर्ब ३ करोड ८५ लाख र सानिमा जीआईसी इन्स्योरेन्समा १ अर्ब १ करोड १४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीहरूतर्फ भने प्रोटेक्टिभ, स्टार, ट्रस्ट र नेपाल माइक्रो इन्स्योरेन्समा गरी कुल ५२ वटा दाबीबापत करिब ३ करोड ७० लाख रुपैयाँको माग भएको छ । बीमा प्राधिकरणले बाँकी दाबीहरूको पनि मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

    बागमती प्रदेशमा मात्रै १८ अर्बको क्षति

    आन्दोलनका कारण देशभर परेको कुल २३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको बीमा दाबीमध्ये ७७ प्रतिशतभन्दा बढी हिस्सा बागमती प्रदेशमा मात्रै केन्द्रित देखिएको छ । प्रदेशगत विवरण अनुसार आन्दोलनको मुख्य प्रभाव राजधानीसहितको बागमती प्रदेशमा परेको हो भने कर्णाली प्रदेशमा सबैभन्दा न्यून क्षति भएको छ।

    आन्दोलनबाट सबैभन्दा बढी प्रभावित बागमती प्रदेशमा १ हजार ८५५ वटा बीमा दाबी परेका छन् । यस प्रदेशबाट कुल १७ अर्ब ९९ करोड ३१ लाख ७४ हजार रुपैयाँ दाबी भएकोमा हालसम्म ६ अर्ब ३४ करोड ७ लाख ५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

    दोस्रो धेरै आर्थिक क्षति भएको कोशी प्रदेशमा ४३८ वटा दाबीमार्फत २ अर्ब २९ करोड ८१ लाख ४० हजार रुपैयाँको माग भएको छ, जसमध्ये बीमा कम्पनीहरूले हालसम्म ९२ करोड ७५ लाख २१ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

    गण्डकी प्रदेशमा कुल २२२ वटा बीमा दाबी दर्ता भएका छन् । यहाँ १ अर्ब ३६ करोड ४८ लाख १ हजार रुपैयाँ बराबरको क्षति दाबी गरिएकोमा ६७ करोड ६३ लाख ५ हजार रुपैयाँ भुक्तानी भएको छ।

    मधेस प्रदेशमा ३९५ वटा दाबीबापत ६७ करोड ८८ लाख २४ हजार रुपैयाँ माग भएको छ । यसमध्ये हालसम्म ३५ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको दाबी फर्स्योट भइसकेको छ।

    लुम्बिनी प्रदेशमा २३६ वटा बीमा दाबी दर्ता भएका छन् । कुल ४३ करोड ४३ लाख ८४ हजार रुपैयाँ दाबी परेको यस प्रदेशमा हालसम्म १८ करोड ८६ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

    सुदूरपश्चिम प्रदेशमा २१३ वटा दाबीमार्फत ३१ करोड ९९ लाख ५९ हजार रुपैयाँ माग भएको छ, जसमध्ये २६ करोड ४० लाख २१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।

    सबैभन्दा कम क्षति बेहोरेको कर्णाली प्रदेशमा ३१ वटा मात्र दाबी परेका छन् । यहाँ १० करोड ३५ लाख ६७ हजार रुपैयाँ दाबी परेकोमा ८ करोड ३७ लाख ९० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । प्राधिकरणले उपलब्ध गराएको उक्त तथ्याङ्क गत असार २२ गतेसम्मको हो। 

    Gen Z protest Claim Details up to 22 Ashad2083_page-0001Gen Z protest Claim Details up to 22 Ashad2083_page-0002

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार