काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन्।
दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उनले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबिच सम्पर्क स्थापित गरेको प्रसङ्गलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे।
उनले बीआरआई लगायतका सहकार्यले नेपाल र चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ।
दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबिच उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकीसँगै महत्त्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उनले बताए।
उनले भने, ‘इतिहास तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसलाई पढिन्छ र बुझिन्छ । एक अर्काको इतिहास बुझ्दा समाज र देशहरू सांस्कृतिक रूपमा अझ नजिक हुन्छन् । यो पुस्तक धेरैभन्दा धेरै नेपाली पाठक, विशेष गरी युवा पुस्तासम्म पुगेर नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु। मित्र राष्ट्रहरू बिचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र होइन, साझा इतिहास र परम्पराप्रतिको सम्मानमा पनि आधारित हुन्छ । सन् १९५५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ।’
उनले थप भने, ‘राष्ट्रपति सी चिनपिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रका रूपमा अघि बढाउने तथा विश्वलाई जोड्ने उद्देश्यसहित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणा अघि सार्नुभएको हो । ग्लोबल साउथका देशहरूबिच सहकार्य र साझा लाभका लागि यसले जोड दिएको छ । करिब १४ सय वर्षअघि चिनियाँ भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै नेपाल र भारतसम्म गरेको यात्रादेखि आजको सडक सञ्जालमार्फत विश्वलाई जोड्ने प्रयाससम्म हेर्दा इतिहास र वर्तमानबिच एउटा सुन्दर सम्बन्ध देखिन्छ । ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणको प्रकाशनले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु।’
उनले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउने बताए।



