काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पत्रकारहरूसँगको पहिलो औपचारिक छलफलमै तथ्यहीन दाबी गर्दै झुट बोलेको पुष्टि भएको छ।
गत मंगलबार मन्त्रालयमा उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरोकारका विषयमा समाचार लेख्ने पत्रकारहरूलाई छलफलमा बोलाएर मन्त्री साहले भोलिपल्ट (बुधबार) देखि नै दैनिक १६० बुलेट ग्यास आयात हुने दाबी गरेका थिए । तर, मन्त्रीको उक्त दाबी नेपाल आयल निगमको वास्तविक आपूर्ति विवरणसँग मेल खाँदैन।
नेपाल आयल निगमका अनुसार भारतीय रिफाइनरीहरूबाट हाल दैनिक सरदर १२५ देखि १३० बुलेट मात्र ग्यास लोड भइरहेको छ । यसरी हेर्दा मन्त्रीले दाबी गरेभन्दा दैनिक कम्तीमा ३० देखि ३५ बुलेट कम ग्यास आयात भइरहेको छ। यसको सोझो अर्थ बजारमा दैनिक झन्डै ३८ हजार सिलिन्डर ग्यास कम आयात हुनु हो।
मन्त्रीको दाबी र यथार्थ: दैनिक ३८ हजार सिलिन्डर कम
नेपाल र भारतमा सञ्चालन हुने एलपी ग्यास बुलेटको औसत भारवहन क्षमता १८ मेट्रिक टन (अर्थात् १८ हजार किलो) हुन्छ । नेपालमा घरायसी प्रयोजनमा प्रयोग हुने प्रतिसिलिन्डरमा १४.२ किलोग्राम ग्यास भरिन्छ । यसअनुसार एउटा बुलेटबाट करिब एक हजार २६७ वटा भरी सिलिन्डर तयार हुन्छन्।
मन्त्री साहले घोषणा गरेबमोजिम दैनिक १६० बुलेट ग्यास आउने हो भने दैनिक दुई हजार ८८० मेट्रिक टन (२८ लाख ८० हजार किलो) ग्यास भित्रिनुपर्छ । यसबाट दैनिक २ लाख २ हजार ८१६ वटा सिलिन्डर बजारमा जान्छन् । तर, हाल दैनिक अधिकतम १३० वटा मात्र बुलेट लोड भइरहेकाले मन्त्रीको घोषणाभन्दा कम्तीमा ३० बुलेट कम ग्यास आइरहेको छ।
३० वटा बुलेट ग्यास कम हुनु भनेको प्राविधिक रूपमा दैनिक ३८ हजार १० वटा घरायसी सिलिन्डर कम आयात हुनु हो। यसरी मन्त्रीले सस्तो लोकप्रियताका लागि पत्रकारहरूमार्फत आम उपभोक्तालाई दैनिक ३८ हजार सिलिन्डर बढी ग्यास आउने भ्रामक आश्वासन बाँडेको स्पष्ट हुन्छ।
के भन्छ आयल निगम ?
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले दैनिक १२० देखि १३० बुलेटको हाराहारीमा मात्र ग्यास लोड भइरहेको स्वीकार गरेका छन् । प्रवक्ता ठाकुरका अनुसार भारतका तीन मुख्य रिफाइनरीहरू– पारादीप, बरौनी र मथुराबाट ग्यास लोडिङ भइरहेको छ।
‘हिजोसम्मको तथ्याङ्कअनुसार दैनिक १२५ देखि १३० बुलेट लोड भइरहेको छ,’ उनले भने, ‘सधैँ एउटै निश्चित परिमाण लोड हुन सक्दैन । भारतमा शनिबार र आइतबार बिदा हुने, रिफाइनरीमा उत्पादन, ग्यासको गुणस्तर (क्वालिटी) पास हुनुपर्ने र बुलेटको उपलब्धताजस्ता प्राविधिक पक्षले गर्दा परिमाण तलमाथि हुन्छ।’
विगतमा कुनै–कुनै दिन १६७ बुलेटसम्म लोड भएको उदाहरण भए पनि नियमित रूपमा १६० बुलेट ग्यास तत्काल आउन सम्भव नरहेको प्रवक्ता ठाकुरको भनाइबाट प्रस्ट हुन्छ । यसले मन्त्री साहले आपूर्ति व्यवस्थापनको प्राविधिक जटिलता र यथार्थ नबुझी केवल मिडियाबाजीका लागि १६० बुलेटको हावादारी दाबी गरेको पुष्टि गर्छ।
साथै रिफाइनरीबाट लोड भएको ग्यास तुरुन्तै बजारमा आइपुग्दैन । प्रवक्ता ठाकुरका अनुसार पारादीपबाट लोड भएको ग्यास काठमाडौँ आइपुगेर सिलिन्डरमा भरिन ५ देखि ६ दिनको ‘लिड टाइम’ लाग्छ भने बरौनीबाट आउन २ देखि ३ दिन समय लाग्छ।



