Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रदेश र स्थानीय तहको अधिकार पूर्ण प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण

प्रदेश र स्थानीय तहको अधिकार पूर्ण प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्णरूपमा कार्यान्वयन हुने गरी अधिकार प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

    संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार बिहान आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्णरूपमा हस्तान्तरण नभएको बताए।

    images

    ‘संविधानले दिएका अधिकार अहिले पनि प्रदेश र स्थानीय तहले पूर्णरूपमा कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन,’ उनले भने, ‘संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहलाई पूर्णरूपमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

    उनले संविधानमा व्यवस्था भएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । संविधानको पूर्ण कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उनको भनाइ थियो।

    प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेअनुसार प्रदेश प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियानको उद्देश्य प्रशासनिक परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ।

    कार्यक्रममा प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ, सुधार तथा संरक्षणको काम अघि बढाइएको बताए।

    उनका अनुसार प्रशासनिक परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रका लागि सरसफाइ केन्द्र तोकिएको छ । सरसफाइ अभियानपछि परिसरमा फलफूलका बिरुवा रोप्ने र तिनको संरक्षणलाई समेत अभियानकै रूपमा अघि बढाइने उनले बताए।

    परिसरको सरसफाइ, सुधार तथा संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोलीसमेत गठन गरिएको प्रमुख सचिव कुँवरले जानकारी दिए।

    मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको उनले बताए । प्रशासनिक परिसरको सुधार तथा संरक्षणको कामलाई निरन्तरता दिँदै स्वच्छ, व्यवस्थित र आकर्षक परिसर निर्माणमा जोड दिइने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार