काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको परिमार्जित नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले असोज २ गते शुक्रबारदेखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको हो।
नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश समावेश गरिएको छ। नोटको अगाडि हिमालको चित्रका साथै लालीगुराँस र ‘५०’ अंकित पानी छाप राखिएको छ।
यस नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
कारोबारलाई सुरक्षित बनाउन नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ। उक्त धागोमा ‘NRB’ स्पष्टसँग देखिने गरी लेखिएको छ।
नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र र ‘NEPAL RASTRA BANK’ लेखिएको छ। त्यसैगरी तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ सिरिज नम्बर समावेश गरिएको छ।




