काठमाडाैँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा २ बजे बोलाइएको बैठक केही बेर अघि(बिहीबार)देखि सुरु भएको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय भएको थियो।
यो केन्द्रीय कार्यसमितिको बैठकका लागि निवर्तमान कार्यसमितिका सम्पूर्ण नेताहरूलाई औपचारिक पत्र पठाएर निमन्त्रणा गरिएको थियो।
निमन्त्रणालाई स्वीकार गर्दै दर्जनौँ निवर्तमान केन्द्रीय सदस्य बैठकमा सहभागी छन् । निवर्तमान कार्यसमितिका सबै सदस्यहरूको केन्द्रीय सदस्यको हैसियत सुनिश्चित भएसँगै दुवै पक्षका शीर्ष तथा प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित भई आगामी १५औँ महाधिवेशन सफल पार्ने अभियान सुरु हुने पार्टीले जनाएको छ।
असोज १६ देखि १९ सम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुन लागेको कांग्रेसको १५औँ महाधिवेशन र असोज ३ गतेदेखि प्रारम्भ हुने वडा तहको चुनावी प्रक्रियाको पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई पुनर्जागरणको रूपमा व्याख्या गरिएको छ।



