काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्।
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य भएका र गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका केही नेता बिहीबार केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका हुन्।
केही बेर अगाडिबाट सुरु भएको बैठकमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने सहभागी छन्। त्यस्तै किरण यादव, नैनसिंह महर, ज्ञानेन्द्रबहादुर कार्की, गोविन्द भट्टराईसहितका नेता बैठकमा सहभागी छन्।
बैठकमा अहिले सभापति गगन थापाले सम्बोधन गरिरहेका छन्। देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेका बेला उनीहरू भने संस्थापनतर्फ लागेर बैठकमा सहभागी भएका हुन्।



