Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भयावह प्रकोप बन्दै बंगलादेशमा दादुरा, एक हजारभन्दा बढी बालबालिकाको मृत्यु

भयावह प्रकोप बन्दै बंगलादेशमा दादुरा, एक हजारभन्दा बढी बालबालिकाको मृत्यु

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । बंगलादेशमा दशकौँयताकै सबैभन्दा गम्भीर दादुरा प्रकोप देखिएको छ । संक्रमण नियन्त्रण गर्न आपत्कालीन खोप अभियान सञ्चालन भइरहे पनि पछिल्लो समयसम्म एक हजारभन्दा बढी बालबालिकाको मृत्यु भइसकेको र दैनिक करिब १ हजार नयाँ शंकास्पद संक्रमित थपिइरहेको जनाइएको छ।

    बंगलादेश सरकारले देशभर सञ्चालन गरेको आपत्कालीन अभियानमा १ करोड ९८ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइसकेको छ । तर ठूलो संख्यामा बालबालिका अझै खोपको पहुँचबाहिर रहेकाले संक्रमण नियन्त्रण गर्न कठिन भइरहेको छ।

    images

    युनिसेफका अनुसार सरकारले २६ सेप्टेम्बरदेखि खोप अभियानलाई थप तीव्र चरणमा लैजाने तयारी गरेको छ । यस चरणमा अहिलेसम्म खोप नपाएका बालबालिकालाई प्राथमिकतामा राखिनेछ।

    मार्चदेखि १ लाख ९४ हजारभन्दा बढी संक्रमित

    बंगलादेशमा मार्च २०२६ देखि दादुराको संक्रमण तीव्र रूपमा फैलिएको हो । पछिल्लो सरकारी तथ्यांकअनुसार मार्चयता १ लाख ९४ हजारभन्दा बढी शंकास्पद तथा संक्रमित केस रिपोर्ट भइसकेका छन्।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अप्रिलमै संक्रमण देशका ६४ मध्ये ५८ जिल्लामा फैलिएको थियो । त्यतिबेला १५ मार्चदेखि १४ अप्रिलसम्म १९ हजार १६१ शंकास्पद केस र २ हजार ८९७ प्रयोगशाला प्रमाणित केस भेटिएका थिए । १६६ जनाको दादुरासँग सम्बन्धित मृत्यु शंकास्पद र ३० जनाको मृत्यु प्रमाणित भएको थियो।

    त्यसपछि संक्रमण झन् तीव्र भएको डब्लुएचओको तथ्यांकले देखाउँछ । जुन १४ सम्म मात्रै ८५ हजार ९५१ शंकास्पद केस र १० हजार ३२३ प्रयोगशाला प्रमाणित केस रिपोर्ट भएका थिए । त्यस अवधिसम्म ५६० शंकास्पद तथा ९२ प्रमाणित दादुरा–सम्बन्धी मृत्यु भएको डब्लुएचओले जनाएको थियो।

    बीबीसीले उद्धृत गरेको पछिल्लो सरकारी तथ्यांकअनुसार मंगलबार मात्रै थप आठ जनाको शंकास्पद दादुराबाट मृत्यु भएको थियो।

    पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित

    दादुरा अत्यन्त संक्रामक भाइरसजन्य रोग हो । संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने सूक्ष्म कणबाट यो सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । डब्लुएचओका अनुसार बंगलादेशमा रिपोर्ट भएका संक्रमितमध्ये करिब ७९ प्रतिशत पाँच वर्षभन्दा कम उमेरका बालबालिका छन् । दुई वर्षभन्दा कम उमेरका बालबालिकाको हिस्सा मात्रै ६६ प्रतिशत छ भने नौ महिनाभन्दा कम उमेरका शिशु ३३ प्रतिशत छन्।

    विशेषगरी नौ महिनाभन्दा कम उमेरका शिशु जोखिममा छन्, किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य नहुन सक्छन्।

    डब्लुएचओका अनुसार पुष्टि भएका दादुरा संक्रमितमध्ये करिब ८३ प्रतिशत खोप नलगाएका बालबालिका छन् । यसले बंगलादेशमा खोपबाट सिर्जना हुनुपर्ने सामूहिक प्रतिरोधात्मक क्षमतामा ठूलो कमी आएको देखाउँछ।

    खोपको पहुँचमा आएको कमी मुख्य कारण

    बंगलादेशले केही वर्षअघिसम्म दादुरा उन्मूलनतर्फ उल्लेखनीय प्रगति गरेको थियो । तर पछिल्ला वर्षमा नियमित खोप कार्यक्रममा आएको अवरोधले ठूलो संख्यामा बालबालिका संवेदनशील बने।

    डब्लुएचओका अनुसार २०२४–२५ मा दादुरा–रुबेला खोपको राष्ट्रिय स्टक सकिनु, नियमित खोप सेवामा रहेका कमजोरी तथा २०२० पछि नियमित रूपमा राष्ट्रव्यापी अतिरिक्त खोप अभियान सञ्चालन हुन नसक्नुले ‘इम्युनिटी ग्याप’ बढायो।

    युनिसेफका अनुसार दोस्रो मात्रा दादुरा खोपको पहुँच २०१९ मा ८९ प्रतिशत रहेकोमा २०२३ मा ८०.७ प्रतिशतमा झरेको थियो । करिब १ करोड बालबालिका पहिलो मात्रा र २ करोड बालबालिका दोस्रो मात्रा खोपका दृष्टिले संवेदनशील अवस्थामा रहेको युनिसेफले जनाएको थियो।

    कोभिड महामारीको असर

    स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना महामारीका समयमा नियमित खोप सेवामा आएको अवरोधले पनि अहिलेको अवस्थालाई गम्भीर बनाउन भूमिका खेलेको छ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण स्वास्थ्य प्रणालीमा समेत विभिन्न व्यवधान आएका थिए । बीबीसीले युनिसेफलाई उद्धृत गर्दै सन् २०२५ मा खोप खरिदमा भएको ढिलाइले केही समय खोप अभावको अवस्था सिर्जना गरेको दाबी गरेको छ । तत्कालीन स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने खोप अभाव भएको दाबी अस्वीकार गरेका थिए।

    यस विषयमा आरोप र प्रत्यारोप रहे पनि डब्लुएचओको तथ्यांकले भने पछिल्ला वर्षमा खोपको पहुँचमा आएको कमी र प्रतिरोधात्मक क्षमतामा बनेको खाली ठाउँ प्रकोप फैलिनुको महत्वपूर्ण कारण भएको देखाउँछ।

    अस्पतालमा बिरामीको चाप

    संक्रमण बढेसँगै बंगलादेशका अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ । युनिसेफले अप्रिलमै धेरै स्वास्थ्य संस्थामा अत्यधिक भीड, बिरामी छुट्याएर राख्ने पर्याप्त स्थानको अभाव तथा औषधि र रेफरल सेवामा समस्या रहेको जनाएको थियो । ढाकाको इन्फेक्सियस डिजिज अस्पतालमा एकै दिन ९० भन्दा बढी बिरामी भर्ना भएको र कुश्तिया मेडिकल कलेज अस्पतालमा ५७ शय्या हुँदाहुँदै ८४ बालबालिका उपचाररत रहेको रिपोर्ट गरिएको थियो।

    जुनमा डब्लुएचओको तथ्यांकअनुसार दादुरा शंकास्पद बिरामीमध्ये दैनिक औसत ९०२ जना अस्पताल भर्ना भइरहेका थिए।

    अप्रिलदेखि राष्ट्रव्यापी खोप अभियान

    सरकारले डब्लुएचओ, युनिसेफ र गाभीको सहयोगमा ५ अप्रिल २०२६ देखि आपत्कालीन दादुरा–रुबेला खोप अभियान सुरु गरेको थियो । प्रारम्भमा १८ उच्च जोखिमयुक्त जिल्लाका ३० उपजिल्लामा ६ महिनादेखि पाँच वर्षसम्मका १२ लाखभन्दा बढी बालबालिकालाई लक्षित गरिएको थियो । पछि अभियानलाई देशव्यापी बनाइएको थियो।

    रोहिंग्या शरणार्थी शिविरहरूमा समेत अभियान सञ्चालन गरिएको थियो । मे महिनासम्म त्यहाँ १ लाख ६६ हजारभन्दा बढी बालबालिकालाई खोप लगाइएको ध्ज्इ ले जनाएको थियो।

    डब्लुएचओले प्रारम्भिक अभियानलाई महत्वपूर्ण कदम माने पनि सबै लक्षित बालबालिकासम्म खोप पुग्न नसकेको स्वीकार गरेको छ।

    किन बंगलादेशका लागि ठूलो जोखिम?

    बंगलादेशको ठूलो जनसंख्या, अत्यधिक घना बस्ती र भारत तथा म्यानमारसँगको खुला आवतजावतका कारण संक्रमण फैलिने जोखिम अझै उच्च छ । डब्लुएचओले अप्रिलमै बंगलादेशमा दादुराको राष्ट्रिय जोखिमलाई उच्च र क्षेत्रीय जोखिमलाई पनि उच्च मानेको थियो । सीमापार आवतजावतका कारण भारत र म्यानमारलगायत छिमेकी मूलुकतर्फ संक्रमण फैलिने सम्भावनासमेत औँल्याइएको थियो।

    दादुरा नियन्त्रणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई दुई मात्रा खोप लगाउनु आवश्यक मानिन्छ। युनिसेफका अनुसार यस्तो उच्च खोप दरले मात्र समुदायमा पर्याप्त प्रतिरोधात्मक क्षमता निर्माण गर्न मद्दत गर्छ।

    बंगलादेशले दादुरा नियन्त्रणमा विगतमा हासिल गरेको प्रगति अहिलेको प्रकोपले उल्ट्याउने जोखिम बढेको छ । ठूलो संख्यामा बालबालिका खोपको पहुँचबाहिर रहिरहेमा अस्पतालमा बढ्दो चापसँगै मृत्युको संख्या अझ बढ्न सक्ने चिन्ता स्वास्थ्य विज्ञहरूले व्यक्त गरेका छन् । त्यसैले अहिलेको मुख्य चुनौती नयाँ संक्रमितको उपचार मात्र नभई खोप नपाएका प्रत्येक बालबालिकासम्म पुगेर संक्रमणको श्रृंखला तोड्नु बनेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार