Oct 29 2026 | २०८३ कार्तिक १३ गते

त्रिभुवन विमानस्थलमा विदेशी राहत सामग्री अलपत्र भएको भन्दै सदनमा रास्वपा सांसदले उठाए प्रश्न

त्रिभुवन विमानस्थलमा विदेशी राहत सामग्री अलपत्र भएको भन्दै सदनमा रास्वपा सांसदले उठाए प्रश्न

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विभिन्न देश र दाता निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद न्यौपानेले हालै आफूले विमानस्थलको निरीक्षण गर्दा राहत सामग्रीहरू बेवारिसे अवस्थामा भेटिएको बताए । उनले ती सामग्रीहरूको तस्बिरसहित प्रमाण पेस गर्दै सरकारले तत्काल तिनको व्यवस्थापन गर्नुपर्ने माग गरे।

    images

    ‘मैले भर्खरै विमानस्थलको कार्गोमा अलपत्र रहेका राहत सामग्रीहरू देखेर आएँ । त्यहाँ कोरोना कालका २० कन्टेनर सामान अलपत्र छन् । यस्तै, अन्य विदेशी दाताहरूले दिएका लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीहरू पनि थन्किएका छन्,’ सांसद न्यौपानेले भने, ‘आधा नेपाललाई वर्ष दिन पुग्ने राहत सामग्रीहरू यसरी थन्किनु र प्रयोगमा नआउनु लज्जास्पद छ।’

    सांसद न्यौपानेले सामानहरू थन्किनुको कारणबारे सम्बन्धित कर्मचारीहरूसँग बुझ्दा भन्सार लाग्छ भन्ने बहाना बनाइएको बताए । ‘कोही पनि फिर्केर नआउने र भन्सार लाग्ने झमेला देखाएर सामानलाई नष्ट हुन दिने काम भइरहेको छ,’ उनले भने।

    विपद्को समयमा आएका यस्ता सामग्रीहरूलाई भण्डारण गरेर राख्नुको साटो आवश्यक पर्ने क्षेत्रमा तत्काल पठाउनुपर्नेमा उनले जोड दिए । ती सामानहरू कसलाई आवश्यक छ, त्यो पहिचान गरी सम्बन्धित ठाउँमा तत्काल पुर्‍याउनुपर्ने तर विमानस्थलमा अलपत्र पारेर राख्नुको कुनै औचित्य नभएको उनको भनाइ छ।

    सांसद न्यौपानेले विमानस्थलमा अलपत्र सामग्रीहरू र देशभर पिरोलिएका नागरिकका लागि ती सामग्रीहरू मलम बन्न सक्ने उल्लेख गर्दै सरकारले तत्काल एक्सन लिनुपर्ने बताए । ‘विमानस्थलमा अलपत्र परेका सामग्रीहरूबाट नागरिकलाई पीडित भएको ठाउँमा राहत पुर्‍याउन सकिन्छ । मलमपट्टी गर्ने सामग्री नै नभएको समाचार सुन्न नपरोस्, सरकारले तत्काल यस्तो अवस्थाको अन्त्य गरोस्,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार