काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले घटनास्थलबाट आफूलाई निरन्तर पीडित परिवारको फोन आइरहेको र उनीहरूले आफन्तको शव घर भित्रै रहेको भन्दै उद्धारका लागि हारगुहार गरिरहेको बताए।
‘मलाई त्रिशूलीबाट फोन आएको छ, परिवारका सदस्यहरूले ‘हाम्रो परिवारको लास’ यही घरभित्र छ, उत्खनन गर्न पहल गरिदिनुपर्यो भनिरहनु भएको छ,’ सांसद श्रेष्ठले सदनमा भने।
उनले केवल नदीको सतहमा मात्र नभई आसपासका क्षेत्रमा पनि खोजी कार्यलाई विस्तार गर्नुपर्ने बताए ।‘अब सरकारले मठमन्दिर, सार्वजनिक कार्यालय र सार्वजनिक भवनहरूको क्षेत्रमा पनि उत्खनन गर्न ध्यान दिनुपर्छ,’ उनले भने।
लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी रहँदा नागरिकहरूमा त्रास र अन्यौलता थपिने भन्दै उनले स्रोत र साधनको अधिकतम प्रयोग गरेर छिटोभन्दा छिटो उद्धार टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराए।
‘सर्च एन्ड रेस्क्यूको काम जति लामो बनायो, त्यति नै नागरिकहरू प्यानिक (त्रसित) हुन्छन् । त्यसैले सबै संयन्त्र परिचालन गरेर भए पनि छिटो उद्धार कार्य सम्पन्न गर्नुपर्छ,’ उनले भने।



