काठमाडौँ । दुई प्रतिवेदन एकीकृत गर्ने जिम्मा पाएका एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमति जुटाउन नसकेपछि कार्यदल बैठकै नराखी समय गुजार्ने प्रयास गरेका छन्।
कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठकसमेत प्रभावित हुने देखिएको छ। एमालेले यही असोज ५ देखि ७ गतेसम्म बस्नेगरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ । त्यसअघि कार्यदलले प्रतिवेदन टुङ्ग्याएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदनमा छलफल गर्ने तयारी छ।
गत सोमबार काभ्रेमा कार्यदलको आवासीय बैठकले संयोजक थापा र सदस्यसचिव शंकर पोखरेलले तयार पारेका दुवै प्रतिवेदन सम्पादन गरी एउटै प्रतिवेदन बनाउन थापासहित विष्णु पौडेल र पोखरेललाई जिम्मा दिएको थियो । तीन नेताले एकीकृत प्रतिवेदन बनाएर असोज १ गते कार्यदल बैठक बसी प्रतिवेदनलाई अन्तिम रूप दिने बताइएको थियो। तर, त्यो सहमतिअनुसार काम नभएपछि आजको कार्यदल बैठक नै प्रभावित भएको छ । कार्यदलले प्रतिवेदनकै टुङ्गो नलगाएपछि केन्द्रीय समिति बैठक प्रभावित हुने सम्भावना बढेको एमाले नेताहरूले बताएका छन्।
‘एकीकृत प्रतिवेदन बनाएर आज असोज १ गते कार्यदल बैठक बस्ने सहमति भएको हो, तर अहिलेसम्म बैठकबारे कुनै जानकारी आएको छैन’, एमाले सचिव तथा कार्यदल सदस्य भानुभक्त ढकालले भने, ‘के भएको हो भन्ने मलाई पनि त्यति धेरै जानकारी भएन।’
ढकालले प्रतिवेदन बनाउन ३ जना नेतालाई जिम्मा दिएको सबैलाई थाहा भइसकेको भन्दै त्योभन्दा बढी आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
दुई प्रतिवेदन एकीकृत गरी भाषा सम्पादन गर्ने जिम्मा पाएका कार्यदल संयोजक बादलसहित सदस्यहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल हिजो बुधबार पार्टी कार्यालय च्यासलमा केहीबेर छलफलसमेत गरेका थिए। पार्टी पुनर्गठनको सवालमा प्रतिवेदनमा राख्ने भाषाका सवालमा पौडेल र पोखरेल एकातिर र थापा अर्कोतिर भएपछि सहमति जुट्न सकेको थिएन।
सहमति नजुटेपछि संयोजक थापाले पार्टी अध्यक्ष केपी ओलीसँगै बसेर प्रतिवेदन टुङ्ग्याउने प्रस्ताव गरेका थिए, तर अध्यक्ष र संयोजक थापाले कार्यदलमाथि नै हस्तक्षेप गर्न खोजेको बुझेर पौडेल र पोखरेल बुधबार साँझ गुण्डु नै जान चाहेनन् । पौडेल र पोखरेल नगए पनि बादल एक्लै गुण्डु पुगेर अध्यक्ष ओलीसँग विवादित विषयबारे छलफल गरेका थिए । बादलसँगको कुराकानीमा अध्यक्ष ओलीले नेतृत्व परिवर्तन र पुनर्गठन भन्ने शब्द कुनै हालतमा प्रयोग नगर्न निर्देशन दिएका थिए।
‘पार्टीको निर्णय अनुसार प्रतिवेदन लेख्ने जिम्मा हामीलाई दिएको हो, अध्यक्षकहाँ त प्रतिवेदन लिएर जाने हो, छलफल गर्न नै किन जाने ?’, पौडेल र पोखरेलले भनेका थिए।
एकीकृत प्रतिवेदनमा निर्वाचन हार र पार्टीको अधोगतिको जिम्मा हालको नेतृत्वले लिँदै अध्यक्ष ओलीले पद छाड्नुपर्ने पक्षमा पौडेल र पोखरेल छन् । तर त्यसविपरीत अध्यक्ष ओली र बादल कुनै हालतमा नेतृत्वमाथि दोष दिन नहुने पक्षमा छन् । ‘यसैमा दुई पक्षबिच कुरा नमिल्दा प्रतिवेदन तयार गर्न अलमल भएको हो’, कार्यदलका एक सदस्यले भने, ‘बरु यही बहानामा बादलजी बैठक टार्न खोजिरहनुभएको छ कि भन्ने हामीलाई आशङ्का भएको छ।’
उनका अनुसार अध्यक्ष ओली र संयोजक थापा आफैँ कार्यदललाई असफल बनाउनतर्फ लागेको भन्दै यदि हस्तक्षेप कायम रहे पुनर्गठन पक्षधर नेता कार्यकर्ताहरूले थप कदम चाल्नुपर्ने अवस्था आउन सक्छ।
अर्का एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले पनि आज बिहीबारका लागि तय भएको कार्यदल बैठकबारे कुनै जानकारी नभएको भन्दै के हुन्छ भनेर भन्न नसकिने बताए।
सचिव विश्वकर्माले कार्यदलका कारण केन्द्रीय समिति बैठक नै प्रभावित हुने हो कि भनेर पार्टी पंक्तिमा सरोकारको विषय बनेको भन्दै यसबारे नेतृत्वले विचार पुर्याउनेमा आफू आशावादी भएको बताए।
‘पार्टी नेतृत्वले यसबारेमा पनि केही निर्णय गर्ला’, विश्वकर्माले रातोपाटीसँग भने, ‘कार्यदलमा पर्याप्त छलफल हुँदा अहिलेको अवस्थामा यथास्थितिमै अघि बढ्न सकिँदैन भन्ने मान्यतामा सबै एक ठाउँमै हुनुहुन्छ।’
उनले पार्टी पंक्तिका रायसुझावको सम्मान र सम्बोधन गर्दै अघि बढ्दा पार्टीप्रतिको अपनत्व बढ्ने भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताए।
कार्यदलका अर्का एक सदस्यले भने, ‘आफैँ सहभागी र आफ्नै नेतृत्वको कार्यदलको औचित्य छैन भन्नु गैरजिम्मेवारी हो। आफैँले गरेको निर्णयमा समेत अडिन नसक्नु पश्चगामी र गलत कदम हो।’
उनले कार्यदल असफल बनाइए सिङ्गो पार्टी असफल हुने भन्दै यदि कसैले त्यस्तो सोचे ऊ एमाले नै हुन नसक्ने बताए।
‘कसैले हस्तक्षेप गरेर कार्यदललाई अगाडि बढ्न नदिएपछि कार्यदल असफल भएको होइन कि असफल बनाइएको भनेर बुझ्नुपर्छ । यसको जिम्मा संयोजकले लिनुपर्छ’, ती नेताको भनाइ छ।
बल्थली बैठकमा पार्टी पुनर्गठन अनिवार्य भए पनि नेतृत्व अर्थात् अध्यक्ष ओलीलाई तत्काल जबर्जस्ती नहटाउने बरु उनले आफैँ परिस्थिति बुझेर मार्गप्रशस्त गर्न अग्रसर हुनुपर्नेमा नेताहरू सहमत हुँदै सोही अनुसार प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेका थिए।



