काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौँलाई सुझाव दिएका छन्।
सडक डिभिजन काठमाडौँद्वारा आयोजित ‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
उनले सडक सुझाव एपलाई समस्या बटुल्ने माध्यमका रूपमा मात्र सीमित नराखी सक्रिय रूपमा सडकको अवस्था पहिचान गर्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताए। कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्न सक्ने भन्दै सांसद बमले इनड्राइभ र पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्वअन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने प्रस्ताव गरे। चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्याङ्क संकलन गरेर मर्मत कार्य गर्न सकिने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै सांसद बमले भने, ‘एपमा रिक्वेस्ट र कम्प्लेन मात्रै कुरेर बस्नु हुँदैन। प्रोएक्टिभ बेसिसमा जानुपर्छ।’ सडक निरीक्षणको प्रक्रियालाई प्रभावकारी बनाउने उपायबारे प्रस्ट पार्दै उनले थपे, ‘राइडरहरूलाई निश्चित सडक खण्डको जिम्मेवारी दिएर नियमित रूपमा सडकको अवस्था, खाल्डाखुल्डी र क्षतिको फोटो तथा विवरण पठाउने व्यवस्था गर्न सकिन्छ।’
कार्यक्रममा अर्का रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत चौबीसै घण्टा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु हुनु सकारात्मक सुरुआत भएको बताए। एपमार्फत सडक सुधारको कार्यलाई थप प्रभावकारी बनाउन सांसद, सरकार र नागरिकको साझेदारी आवश्यक रहेको उनको भनाइ छ। काठमाडौँ उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सडक मर्मतमा सङ्घीय सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने सांसद पराजुलीले बताए। सडक सुधारका कामबारे बोल्दै उनले भने, ‘बनाइसकेका सडकका खाल्डाखुल्डी पुर्ने र गुणस्तर कायम गर्ने कामलाई पनि तीव्र बनाउनुपर्छ।’ सरकारको काम प्रभावकारी देखिनुपर्नेमा जोड दिँदै उनले थपे, ‘यी काम एकैपटक अघि बढे मात्रै नागरिकले सरकारको कामको परिणाम महसुस गर्न सक्छन्।’
सांसद पराजुलीले सबै तहका सरकारबीच आपसी समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।



