काठमाडौँ । लामो समयदेखि निरन्तर ओरालो लागिरहेको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने क्रममा असोज महिनामा आएर ब्रेक लागेको छ।
२० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् असोजका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार अधिकांश बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बुधबार सार्वजनिक तथ्याङ्कअनुसार २० मध्ये जम्मा चारवटा वाणिज्य बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ वटा बैंकले भदौकै ब्याजदरलाई असोजमा पनि यथावत् राखेका छन् । समग्र वाणिज्य बैंकहरूको औसत ब्याजदरमा झिनो अङ्कले गिरावट आएको छ।
विगतका महिनाहरूमा बैंकहरूमा कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा अधिक तरलता (लगानीयोग्य रकम) को चाप थुप्रिएको थियो । अघिल्लो आर्थिक वर्षमा मात्रै बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा लगानी भने करिब ४ खर्ब रुपैयाँले मात्र बढेको थियो । अधिक तरलता भएपछि कोषको लागत घटाउन बैंकहरूले निरन्तर निक्षेपको ब्याजदरमा कैँची चलाउँदै आएका थिए।
तर पछिल्लो समय अवस्थामा केही परिवर्तन आउन थालेको छ । भदौ १० गते रसुवागढी क्षेत्रमा भएको क्षतिका बाबजुद बजारमा कर्जाको माग सकारात्मक देखिन थालेको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै र नजिकिँदै गरेका दसैँ, तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गर्दै प्रतीतपत्र (एलसी) खुल्ने क्रममा सुधार देखिएको छ । कर्जाको माग पनि बिस्तारै सकारात्मक हुँदै गएपछि बैंकहरू तत्काल थप ब्याजदर घटाउने मुडमा देखिएका छैनन्।
कुन बैंकको ब्याजदर कति?
असोज महिनाका लागि चारवटा बैंक एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारीले ब्याजदर घटाएका छन् । यसमा सबैभन्दा आक्रामक कटौती एभरेस्ट बैंकले गरेको छ।
बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एभरेस्ट बैंकले भदौमा ४.०५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई असोजका लागि ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशतमा झारेको छ।
त्यस्तै, ठुला बैंकमध्येको नबिल बैंकले पनि ०.३० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । भदौमा ४.५५ प्रतिशत ब्याज दिएको नबिलले असोजका लागि ४.२५ प्रतिशत तोकेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.७३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।
४ प्रतिशतभन्दा तल ब्याज दिने ५ बैंक
लगातारको ब्याजदर कटौतीले असोज महिनाका लागि २० मध्ये ५ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ । जसमा एभरेस्ट बैंक ३.५ प्रतिशत, कुमारी बैंक ३.७३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड ३.७५ प्रतिशत, सिद्धार्थ बैंक ३.७६ प्रतिशत र सिटिजन्स बैंक ३.८५ प्रतिशत रहेका छन् । सिद्धार्थ र सिटिजन्सले असोजमा ब्याजदर नघटाए पनि उनीहरूको दर पहिल्यै ४ प्रतिशतभन्दा तल थियो।
१६ बैंकको ब्याजदर स्थिर, प्रभु बैंकको सर्वाधिक
बाँकी रहेका १६ वटा वाणिज्य बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमध्ये आधा दर्जन बैंकले ठ्याक्कै ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
हिमालयन, प्राइम कमर्सियल, एनआईसी एसिया, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४ प्रतिशत ब्याज दिनेछन्।
त्यस्तै, नेपाल एसबिआई बैंकले ४.१ प्रतिशत, कृषि विकास बैंक र नेपाल बैंकले समान ४.१५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् । असोज महिनामा सबैभन्दा धेरै ब्याज दिने बैंकको रूपमा प्रभु बैंक रहेको छ । प्रभु बैंकले भदौकै ४.५५ प्रतिशत ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएको छ । यसैगरी, माछापुच्छ्रे, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि भदौकै समान ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
औसत ब्याजदरमा झिनो गिरावट
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने व्यवस्था छ । सोहीअनुरूप प्रकाशित तथ्याङ्क हेर्दा, भदौ महिनामा २० वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.१४ प्रतिशत रहेको थियो।
असोज महिनामा ४ बैंकले मात्र ब्याजदर घटाउँदा यो औसत दर ०.०५ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशत कायम भएको छ । लामो समयदेखिको ब्याजदर घट्ने चक्र करिब–करिब तल्लो बिन्दुमा पुगेर स्थिरतातर्फ उन्मुख भएको सङ्केत देखिएको छ।



