काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घिमिरेले यस्तो आरोप लगाएका हुन्।
विपद्को घडीमा मित्रराष्ट्रहरूले प्रस्ताव गरेको उद्धार र राहत सहयोग नस्वीकार्दा धेरै मानवीय क्षति हुन पुगेको दाबी उनले गरे। जलवायु परिवर्तनका कारण आएको बाढीबाट ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसद घिमिरेले बेपत्ता भएकाहरूको तीव्रताका साथ खोजी गर्न सरकारसँग माग गरे। बाढीका कारण बाबुआमा र दाजुभाइ गुमाएर असहाय बनेका बालबालिकाको बसोबास र शिक्षाको सम्पूर्ण दायित्व अभिभावकका रूपमा राज्यले लिनुपर्ने उनको भनाइ थियो।
विपद्को समयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर अभिभावकीय भूमिका निर्वाह गर्नुको सट्टा सत्ताधारी दलका सभापति रवि लामिछानेले बैठक डाकेको प्रति उनले कडा टिप्पणी गरे। सरकार सत्ताधारी दलका सभापतिको नियन्त्रणमा छ कि छैन भन्ने प्रश्न उठाउँदै उनले सर्वदलीय बैठकको निर्णयअनुसार बाढी प्रभावित क्षेत्रको अनुगमन र क्षति सम्बोधनका लागि तत्काल उच्चस्तरीय विशेष संसदीय छानबिन समिति गठन गर्न माग गरे।
भाद्र २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको स्मरण गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। आन्दोलनकारीले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दाप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै घिमिरेले वर्तमान सरकार गठन भएको छ महिना पुग्न लाग्दा पनि सुशासनको क्षेत्रमा कुनै ठोस काम गर्न नसकेको आलोचना गरे। उनले भने, ‘सामाजिक सञ्जालमा स्टाटस लेख्दैमा र मन्त्रीहरूले दादागिरी गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन।’ उनले थपे, ‘विगतका पदाधिकारीलाई गाली र आतङ्क सिर्जना गर्नेबाहेक सरकारले कुनै काम थालनी गरेको छैन।’
विगत ३५ वर्षमा विकास नै नभएको भन्ने भ्रामक प्रचारको खण्डन गर्दै घिमिरेले अघिल्ला सरकारहरूले जलविद्युत्, सडक, पुल, विमानस्थल, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशाल पूर्वाधार खडा गरेको तथ्याङ्क प्रस्तुत गरे। कांग्रेस नेतृत्वको सरकारले देशमा हजारौँ मेगावाट विद्युत्, लाखौँ किलोमिटर सडक र दर्जनौँ विमानस्थल निर्माण गरेको दाबी गर्दै उनले वर्तमान सरकारलाई पूर्वाधारका नयाँ पाँचवर्षे योजना सार्वजनिक गर्न चुनौती दिए।
सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने आफ्नो शुभकामना रहेको बताउँदै सांसद घिमिरेले कानुन निर्माण र विकासका काममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे। तर अरूलाई हिलो छ्यापेर र घमण्ड गरेर सरकार सफल हुन नसक्ने भन्दै उनले स्टन्टबाजी छोडेर काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।



