काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सरकारले विज्ञ सम्मिलित अध्ययन समिति गठन गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले विज्ञहरूको अध्ययन टोली गठन गर्नेबारे छलफल भइरहेको जानकारी दिए।
‘ठ्याक्कै निर्णय भैसकेको जानकारी आएको छैन, तयारी र छलफल भने भइरहेको छ’, शाक्यले भने, ‘केही नामहरू आएका छन् त्यसमा छलफल हुँदैछ।’
मन्त्रालय स्रोतका अनुसार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने तयारी भएको हो।
समितिमा जलविद् डा.नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा.रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा.उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा.मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा.हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनेगरी छलफल भइरहेको छ । समितिले बाढी गएको उद्गमस्थलसम्म पुगेर अध्ययन गर्नेछ।



