Oct 29 2026 | २०८३ कार्तिक १३ गते

निर्दोषलाई राजस्व छलीको फन्दामा पार्ने प्रवृत्ति रोक्न सांसद पन्तको माग

निर्दोषलाई राजस्व छलीको फन्दामा पार्ने प्रवृत्ति रोक्न सांसद पन्तको माग

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले विपन्न नागरिकको नागरिकता दुरुपयोग गरेर राजस्व छली गर्ने र निर्दोषलाई कानुनी फन्दामा पार्ने गिरोह सक्रिय रहेको भन्दै सदनको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पन्तले माफियाहरूले अरूको नागरिकता प्रयोग गरी कम्पनी दर्ता गर्ने, बैंक खाता खोल्ने र पछि राजस्व छली गरेर वास्तविक धनीलाई फसाउने प्रवृत्ति बढेकोमा सभामुखको ध्यानाकर्षण गराएका हुन्।

    images

    पन्तकै निर्वाचन क्षेत्रका विपन्न युवा पविन्द्र साह गोढको घटना उदाहरणको रूपमा उनले सदनमा प्रस्तुत गरेका छन्। सांसद पन्तका अनुसार सामान्य चिनजानका व्यक्तिले पविन्द्रको नागरिकता दुरुपयोग गरी कम्पनी खोली पावर अफ अटर्नी आफूसँग राखेका थिए । पछि सोही कम्पनीबाट राजस्व छली भएपछि राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले पविन्द्रलाई तीन करोडभन्दा बढी जरिवाना र ६ महिना कैदको फैसला सुनाएको थियो।

    ‘उहाँ आफ्नो नाममा खुलेको कम्पनी, बैंक खाता, कानुनी प्रतिरक्षा र पुनरावेदन प्रक्रियाबारे पूर्णतः अनभिज्ञ हुनुहुन्थ्यो’, पन्तले भने, ‘अन्ततः म्याद गुज्रिएपछि प्रहरीले पक्राउ गरी उहाँलाई कारागार पठायो।’

    आफ्नो निर्वाचन क्षेत्रमा मात्रै यस्ता आधा दर्जन घटना रहेको उल्लेख गर्दै उनले राजस्व छलीका वास्तविक दोषीलाई कारबाही गरी फसाइएका निर्दोष नागरिकलाई न्याय दिलाउन सभामुखमार्फत सरकारसँग माग गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार