काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार र घाइतेहरूको न्यायको मागलाई सरकारले बेवास्ता गरेको भन्दै कडा आलोचना गरेकी छिन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र घाइतेहरू आज पनि न्यायको ढोका ढकढकाउन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताइन्।
सांसद खतिवडाले प्रश्न गरिन्, ‘परिवर्तनको कुरा गर्ने प्रधानमन्त्रीले सहिदको रगतमा बनेको सत्ताको कुर्सीमा बस्नुभएको छ। तर, ती सहिदका परिवारको पीडा सुन्ने फुर्सद यो सरकारलाई किन छैन ?’ उनले सहिद परिवारको प्रश्न सरल भएको र उनीहरूले न्याय कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग माग गरिन्।
उनले जेलमा रहेका जेनजी थुनुवाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरिन्। ‘ढिला नगरी उनीहरूलाई तत्काल रिहा गरियोस्, नतिजा दिनुहोस्,’ उनले भनिन्।
उनले सहिद दिवसलाई केवल औपचारिकतामा सीमित नगर्न सरकारलाई चेतावनी दिइन्। ‘हरेक वर्ष भदौ २३ गतेलाई आँसु झार्ने र फुलमाला चढाउने दिन मात्र नबनाइयोस्। सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दा उनीहरूप्रतिको जिम्मेवारी पनि पुरा गरियोस्,’ उनले थपिन्।
सरकारको कार्यशैलीको आलोचना गर्दै उनले पीडितका मागप्रति संवेदनशील हुन र सहिद परिवारको पीडालाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरिन्।



