काठमाडौँ । सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेका छन् । तीमध्ये ४९३ जना एसईई उत्तीर्ण गरेका युवा छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण गरेका २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए।
तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा लागुऔषध सम्बन्धी अपराधमा पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ८४५ वटा मुद्दा दर्ता हुँदा ७९६ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ६९३ मुद्दा दर्ता हुँदा १ हजार ४३ जना पक्राउ परे । आर्थिक वर्ष २०८२/८३ मा ६९४ मुद्दा दर्ता हुँदा पक्राउ पर्नेको सङ्ख्या बढेर १ हजार १४६ पुगेको छ।
गत आर्थिक वर्षमा जिल्लागत रूपमा कैलालीमा सबैभन्दा धेरै ६३६ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ४१६ जना, डडेल्धुरामा १२, डोटीमा ७, बैतडीमा १५, दार्चुलामा २१, बझाङमा २४, बाजुरामा ४ र अछाममा ११ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा लागुऔषधको समस्या बढी देखिनुको एउटा प्रमुख कारण भारतसँग जोडिएको खुला सीमा हो । भारतबाट विभिन्न नाका हुँदै लागुऔषध नेपाल भित्र्याउने र यहाँ बिक्री वितरण गर्ने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमवहादुर बिष्टले जानकारी दिए। मुख्य नाकासँगै अन्य नाकाबाट समेत लागुऔषध भित्रिने गरेको प्रहरीको भनाइ छ।
लागुऔषध कारोबारमा पछिल्लो समय महिला तथा किशोरीको संलग्नता देखिने गरेको प्रहरी बताउँछ । पैसा कमाउने लोभमा भारतबाट लागुऔषध ल्याएर नेपालमा बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए । खुला सीमा क्षेत्रका कारण लागुऔषध नियन्त्रणमा चुनौती रहेको उनको भनाइ छ।
लागुऔषधको कारोबार प्रहरीको सुरक्षा घेराभित्र समेत पुग्ने गरेको घटनाले देखाएको छ । केही समयअघि कैलाली कारागारमा छोरालाई भेट्न पुगेकी धनगढीकी ५० वर्षीय कमलादेवी अवस्थीको साथबाट ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनका छोरा ओमप्रकाश अवस्थी लागुऔषध मुद्दामै कैद भुक्तान गरिरहेका थिए।
यस्तै धनगढी–६ चटकपुरका २५ वर्षीय भीम बोगटीले जेलमा रहेका आफन्तका लागि ल्याएको स्याम्पुको बट्टाबाट १३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको थियो।
लागुऔषध कारोबारमा प्रहरीसमेत संलग्न रहेको घटनासमेत यसअघि प्रकाशमा आइसकेको ५ । कैलाली कारागारमा कार्यरत प्रहरी हवल्दार लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेका थिए।
प्रहरीले भने नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विद्यालयदेखि वडा तहसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।
पहिलो चरणमा कक्षा ११ र १२ का विद्यार्थीलाई लागुऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको र कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई पनि यस्ता कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । अभिभावक र बालबालिकालाई सहभागी गराएर वडा तहमा समेत सचेतना कार्यक्रम गर्ने योजना रहेको प्रहरीले जनाएको छ।
लागुऔषध प्रयोगकर्तालाई उपचार र पुनःस्थापनाका लागि धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा आसरा सुधार गृह सञ्चालनमा ल्याइएको छ । सुधार गृहमा लागुऔषधमा फसेकाहरूलाई राखेर चिकित्सकीय जाँच, उपचार, मनोपरामर्श तथा योगालगायतका गतिविधि गराइने व्यवस्था गरिएको छ।
प्रहरीका अनुसार लागुऔषधका कारण युवाहरूमा विभिन्न समस्या देखिनुका साथै कतिपय जेल जीवन बिताइरहेका छन् । त्यसैले अपराध नियन्त्रणसँगै प्रयोगकर्ताको उपचार र पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ।



