काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले बाढी–पहिरोमा परी बेपत्ता भएका व्यक्तिको परिवारले बिमा दाबी गर्न निकै सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा उनले प्राकृतिक विपत्तिमा परी बेपत्ता भएकाहरूको ‘मृत्यु दर्ता’ प्रक्रिया झन्झटिलो हुँदा पीडित परिवारले बिमाको रकम समेत पाउन नसक्ने अवस्था सिर्जना भएको बताए।
सांसद पराजुलीले भने, ‘विपत्तिको चपेटामा परेका परिवारमाथि बिमा दाबीको अर्को ठुलो समस्या थपिएको छ। बाढीले घरपरिवार नै बगाएकाले सम्पत्तिको हकदार को हो भन्ने अन्योल त छँदै छ, त्यसभन्दा बढी चिन्ता मृत्यु दर्ताको छ।’
उनका अनुसार बिमा कम्पनीहरूले क्षतिपूर्ति दाबी गर्नका लागि मृत्यु भएको आधिकारिक प्रमाण (मृत्यु दर्ता) अनिवार्य रूपमा माग्ने गर्छन्। तर, बाढीले बगाएर शव नै फेला नपरेका अवस्थामा कानुनी रूपमा मृत्यु प्रमाणित गर्न निकै लामो र जटिल प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। समयमै मृत्यु दर्ता नहुँदा बिमाको रकम गुम्ने र पीडित परिवार थप आर्थिक सङ्कटमा पर्ने जोखिम देखिएको उनको भनाइ छ।
सांसद पराजुलीले भने, ‘शव नभेटिएका बेपत्ताहरूको हकमा सरकारले मृत्यु भएको प्रमाणित गरिदिने प्रक्रिया अत्यन्तै ढिलो छ। यस्तो संवेदनशील अवस्थामा कानुनले पीडितलाई न्याय दिन सक्नुपर्छ।’
उनले यो समस्या समाधानका लागि ‘मुलुकी देवानी संहिता’ मा आवश्यक संशोधन गरी बेपत्ताहरूको मृत्यु दर्ताको बाटो छिटो र सरल बनाउन सरकारसँग जोडदार माग गरेका छन्। ‘संहितामा समयसापेक्ष संशोधन गरेर विपत्तिमा परेका परिवारलाई तत्काल बिमा दाबी गर्ने कानुनी आधार तयार पारिदिनुपर्छ,’ उनले भने।
बाढी–पहिरोका कारण घरबारविहीन र शोकाकुल परिवारलाई थप मानसिक र आर्थिक तनावबाट जोगाउन सरकारले तत्काल यस कानुनी अड्चन फुकाउनुपर्नेमा उनले जोड दिए ।



