Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताए।

    images

    नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढेको जानकारी पाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भन्ने एकिन गर्न सक्ने अवस्था नरहेको उनले बताए । निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ।

    यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो । सो बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो।

    यसैबिच अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार