काठमाडौँ । आइतबार राति जाजरकोटको नलगाड नगरपालिका–१ र २ को बिचमा पर्ने बौलाह खोलामा आएको बाढीले भूकम्पपीडितका ८ भन्दा बढी अस्थायी टहरा बगायो । पशुचौपायादेखि अस्थायी टहरामा रहेका पसलका सामान पनि बगाएर लग्यो।
मानवीय क्षति नभए पनि भूकम्पबाट पीडामा रहेका नागरिकलाई बाढीले झन् पीडा थप्यो । भूकम्पले घर भत्काएको थियो, बाढीले अस्थायी टहरा नै बगाइदियो।
गत साउन ३० गते जाजरकोटकै भेरी नगरपालिका—२, रिसाङ बस्तीमा ठुलो पहिरो आयो । १३ घरपरिवार पूर्ण रूपमा प्रभावित भए, ४ जनाले ज्यान गुमाए भने १० जना घाइते भए।
यी केही प्रतिनिधिमूलक घटना हुन् । यो वर्ष साउनदेखि भदौ ३० गतेसम्म कर्णालीमा १५७ वटा विपद्का घटना घटेका छन्, जसमा धेरैजसो पहिरोका छन् । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार यी घटनामा परी १० जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते, २ जना बेपत्ता, १२१ वटा पशुचौपायाको मृत्यु भएको छ।
२२४ वटा घर तथा भौतिक संरचनामा क्षति हुँदा ५१ लाख ४६ हजार ९०० रुपैयाँ आर्थिक क्षतिको मूल्याङ्कन भएको छ। जाजरकोटको रिसाङ र बौलाहा खोलाको बाढीबाट भएको क्षतिको आर्थिक मूल्याङ्कन भएको छैन।
कर्णाली विपद् जोखिमको हिसाबले उच्च जोखिममा रहेको प्रदेश हो । १० जिल्लामध्ये कर्णालीका सुर्खेतबाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढीको जोखिम हुन्छ।
यद्यपि कर्णाली, भेरी नदी तथा दर्जनौँ खोलानाला भएकाले अन्य जिल्लाहरूमा पनि बाढी जोखिम पनि उत्तिकै रहन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढी, चट्याङ जस्ता तीन वटै विपद्को जोखिम उच्च छ।
अझ प्रदेश सरकारले त कर्णालीलाई बहुप्रकोपकै उच्च जोखिममा रहेको औँल्याएको छ । प्रदेश सरकारले तयार पारेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’मा भनिएको छ, ‘जटिल भूसंरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता तथा जलवायु परिवर्तनका कारण कर्णाली बहुप्रकोपको उच्च जोखिममा छ।’
विगत ४१ महिनामा कर्णालीमा २ हजार ४४३ वटा विपद्का घटना भएका छन्, जसमा परी २६१ जनाले ज्यान गुमाएका छन् भने ७५३ मानिस घाइते भएका छन् । यस्तै प्रहरीको रेकर्डमा ४ जना अझै बेपत्ताको सूचीमा छन् । यी घटनामा २६२ वटा पशुचौपायाको मृत्यु भएको छ भने ६५ हजार ८१३ वटा घर तथा अन्य भौतिक संरचना ध्वस्त बनेका छन् । यी घटनामा २ अर्ब ८६ करोड ९० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिं राठौरका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ७६५ वटा विपद्का घटना भए, जसमा १९४ जनाले ज्यान गुमाए भने ४७४ जना घाइते भएका थिए । ६३ हजार १२१ वटा घर तथा भौतिक संरचनामा क्षति हुँदा २ अर्ब ६६ करोड १५ लाख ६२ हजार बराबरको आर्थिक क्षति भएको थियो। उक्त वर्ष जाजरकोट भूकम्पले ठुलो क्षति पुर्याएको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा ८२१ वटा विपद् घटनामा ३५ जनाले ज्यान गुमाउँदा १८० जना घाइते भएका थिए । ८६२ पशुचौपायाको मृत्यु भएको थियो । १ हजार ३०६ वटा घर तथा भौतिक संरचनामा क्षति हुँदा १६ करोड २६ लाख ६७ हजार बराबरको आर्थिक क्षति भएको थियो।
आर्थिक वर्ष २०८२/०८३ मा ७०० वटा विपद् घटनामा २२ जनाले ज्यान गुमाएका थिए । ७३ जना घाइते हुँदा ३५४ वटा पशुचौपायाको मृत्यु भएको थियो । १ हजार १५२ वटा घर तथा भौतिक संरचनामा क्षति हुँदा ३ करोड ९६ लाख ९९ हजार बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ।
पहिरोको बढी जोखिम
प्रवक्ता राठौरका अनुसार, कर्णालीमा नदी र मुख्य जलाधारबाट ल्याउने बाढी तथा डुबानबाट घटनाहरू बर्सेनि दोहोरिने गरेका छन् । १० जिल्लामध्ये सुर्खेतमा बाढी र डुबानको बढी जोखिम छ।
तत्कालीन कर्णाली विकास आयोगले साबिक कर्णालीका चार जिल्लामा गरेको अध्ययनले ३१८ वटा गाउँबस्तीहरू असुरक्षित रहेको देखाएको थियो । यी बस्ती बढीजसो पहिरोका कारण असुरक्षित भएको उल्लेख छ।
अध्ययनले प्राकृतिक रूपमा भिरालो हुनु, बाढी पहिरो आउनु र नदी कटानले विपद् ल्याएको विषयमात्र हेरेको थियो। त्यसबेला कर्णालीका चार जिल्लाका जम्मा १ हजार २५ गाउँमध्ये ७०४ गाउँ अर्थात् ६९ प्रतिशत गाउँ सामान्य रूपमा सुरक्षित देखिएका थिए । यस्तै ३१८ गाउँ अर्थात् ३१ प्रतिशत गाउँ उच्च जोखिममा रहेको पाइएको उल्लेख छ।
प्रदेश सरकारले तयार पारेको विपद् प्रतिकार्य योजनामा पनि कर्णाली सबैभन्दा धेरै पहिरोको जोखिममा रहेको उल्लेख गरिएको छ।
२०७२ वैशाखदेखि २०८२ वैशाखसम्मको विपद्को आँकडालाई केलाउँदा मृत्युको आधारमा पहिरोमा मात्रै परेर १९२ जनाले ज्यान गुमाएका छन्।



