Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विश्वकर्मा

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ : ४ हजारदेखि १७ हजारसम्ममा बिक्री

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ : ४ हजारदेखि १७ हजारसम्ममा बिक्री

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । असोज १ गते पर्ने विश्वकर्मा पूजा नजिकिँदै गर्दा मूर्तिकारहरू विश्वकर्मा बाबाको मूर्ति बनाउन र बजारसम्म पुर्याउन व्यस्त बनेका छन्।

    उद्योग, कलकारखाना, वर्कशप, निर्माण तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र मेसिनका देवताका रूपमा विश्वकर्माको पूजा गर्ने परम्परा रहेकाले पूजाका लागि मूर्तिको माग हुने गरेको छ। असोज १ गते हुने पूजाका लागि बजारमा पछिल्लो एक हप्तादेखि मूर्तिको माग ह्वात्तै बढेको छ।

    images

    ललितपुरको कुपण्डोलमा जग्गा भाडामा लिएर मूर्ति कारखाना चलाएका सर्लाहीका बिकाउ पण्डितलाई पनि मूर्ति बनाउन र बिक्री गर्न भ्याइनभ्याइ छ। विश्वकर्मा पूजा आउनुभन्दा पहिल्यै माग आउने र त्यसैअनुसार मूर्ति तयार पार्ने गरिएको उनले सुनाएका छन्। ‘१०-१५ दिन पहिल्यै माग आउँछ,’ पण्डित भन्छन्, ‘हामी मूर्ति बनाउँछौँ। यहाँ बनाउँछौँ अनि छानेर दिन्छौँ।’

    पछिल्ला वर्षमा धर्मतिर मान्छेको चासो बढ्दा मूर्तिको व्यापार पनि बढेको उनको अनुमान छ। सन् २०५८ तिरबाट मूर्ति बनाउन सक्रिय रहेका उनले भने, ‘काठमाडौँभर बिक्री हुन्छ। पहिला कम हुन्थ्यो, अहिले यहाँ मान्छेको चाप धर्मतिर बढेको छ।’

    पूजाका लागि बनाइने मूर्तिमा विश्वकर्मालाई हातमा विभिन्न औजार तथा शिल्प सामग्रीसहित देखाउने गरिन्छ। माटो र सिमेन्टको छुट्टाछुट्टै मूर्ति बनाउने गरिएको उनले बताए। पूजा गर्ने उद्योग, वर्कशप तथा व्यवसायीहरूले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न आकारका मूर्ति खरिद गर्छन्।

    आकारअनुसार मूर्तिको बजार मूल्य चार हजारदेखि १७ हजार रुपैयाँसम्म पर्ने पण्डितले जानकारी दिएका छन्। उनका अनुसार सानो मूर्ति तयार पार्दा तीन हजार रुपैयाँ आसपास खर्च हुन्छ र त्यसको बजार मूल्य चार हजार रुपैयाँसम्म पर्छ। ठूलो आकारको मूर्ति बनाउँदा १० देखि १५ हजार रुपैयाँसम्म खर्च हुने र १६ देखि १७ हजार रुपैयाँमा बिक्री हुने उनले बताए। विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन कुल पाँच लाख रुपैयाँ खर्च हुने र भारतबाट सामान ल्याउने गरेको उनले सुनाएका छन्।

    विश्वकर्मा पूजा केवल धार्मिक आस्थासँग मात्र नभई श्रम, सीप, प्रविधि र उत्पादनसँग पनि जोडिएको पर्वका रूपमा लिइन्छ। त्यसैले मूर्ति स्थापना गरी पूजा गर्नु काममा प्रयोग हुने औजार तथा उपकरणप्रति सम्मान व्यक्त गर्ने सांस्कृतिक अभ्याससमेत हो। विश्वकर्मा पूजामा यातायातका साधनहरूको विशेष पूजा गरिन्छ भने पूजा गरिएको मूर्ति भोलिपल्ट रीतिपूर्वक नदी, ताल वा तलैयामा सेलाउने चलन छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार