Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेसमा महाधिवेशनका लागि दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?

कांग्रेसमा महाधिवेशनका लागि दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले विशेषगरी बागमती प्रदेशमा शक्ति सङ्घर्षलाई उच्च बनाएको छ।

    पार्टीको वैधानिकता र केन्द्रीय कार्यसमितिको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बखत दुवै पक्षले महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसभित्रको राजनीतिक द्वन्द्व प्रदेश तहसम्म देखिएको छ। दुवै पक्षलाई वडा, पालिका तथा जिल्ला तहमा प्रतिनिधि व्यवस्थापनसहित अधिवेशन सम्पन्न गर्न निकै चुनौतीपूर्ण देखिएको छ।

    images

    कांग्रेस संस्थापन पक्षले बाढी–पहिरोका कारण तल्लो तहको अधिवेशन कार्यतालिका केही परिमार्जन गरे पनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने तयारी गरेको छ । संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ/नगरपालिका अधिवेशन, असोज १० गते क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

    यता, कांग्रेस असन्तुष्ट पक्ष (शेरबहादुर देउवा समूह) ले भने तल्लो तहका अधिवेशन असोज १५ गतेदेखि सुरु गरी केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने घोषणा गरेको छ । यसका लागि देउवा समूहले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाइसकेको छ।

    बागमती प्रदेशका केही जिल्लामा देउवा समूहले अधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी दिएको छ । जसअनुसार सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), काभ्रेमा गणेश लामा, चितवनमा कञ्चनचन्द्र वादे, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौँमा कल्याणी रिजाललाई केन्द्रीय प्रतिनिधि तोकिएको छ।

    बागमती प्रदेशमा शक्ति सङ्घर्षको अवस्था कस्तो ?

    दुई महाधिवेशन घोषणासँगै बागमती प्रदेशमा कांग्रेसभित्रको शक्ति सङ्घर्ष जटिल बन्दै गएको छ । प्रदेशको राजनीतिमा नेताहरूको आन्तरिक समीकरण र दाउपेच रोचक बनेको छ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) अहिले मध्यमार्गी बाटोमा देखिएका छन्।

    सैद्धान्तिक रूपमा दुवै जना देउवा समूहका क्याडर भए पनि उनीहरूबिचको आन्तरिक द्वन्द्व पुरानै हो । विशेष महाधिवेशनका बेला बानियाँ गगन थापा पक्षतिर खुलेका थिए भने डिना मकवानपुरमा पराजित भएपछि पुनः देउवा समूहमै फर्किएकी थिइन् । उनीहरूबिचको पुरानो द्वन्द्वले बागमतीको राजनीतिलाई प्रभावित पारिरहेको छ।

    उता, गगन पक्षमा देखिएका बागमती प्रदेश सभापति बानियाँ र सहमहामन्त्री बहादुर सिंह लामाबिच केही समय अघि मुख्यमन्त्रीको विषयलाई लिएर तिक्तता उत्पन्न भएको थियो । हालसम्म यी दुई नेता एकमत हुन सकेका छैनन् र गगन शिविरभित्रै आ–आफ्नो शक्ति प्रदर्शनमा छन्।

    यसैबिच, देउवा समूहको प्रभाव पुनर्जागृत गर्न निवर्तमान केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, कुन्दनराज काफ्ले, शिव हुमागाइँ लगायतका नेताहरू जिल्ला–जिल्लामा सक्रिय भएर लागेका छन् । उनीहरूलाई बागमती प्रदेश समितिका नेता कञ्चनचन्द्र वादे लगायतले बलियो साथ दिइरहेका छन्।

    पार्टीमा समानान्तर अभ्यासले संगठनलाई नै समाप्त पार्ने भन्दै कांग्रेसका केही नेताहरूले संस्थापन र असन्तुष्ट दुवै पक्षबाट आएका महाधिवेशनका कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । पार्टीलाई दुर्घटनाबाट जोगाउन एकताका लागि निर्णायक वार्ताको थालनी गर्न उनीहरूको विशेष आग्रह छ । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्यहरू श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा, राधा घले, सुशीला थिङ, गणेश लामा लगायतका नेताहरू यो धारमा देखिएका छन्।

    कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले तल्लो तहको अधिवेशन र महाधिवेशनका विषयमा कांग्रेसमा कुनै ठुलो समस्या नभएको बताए । पार्टीभित्रको अधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर विभिन्न कोणबाट बहस भइरहे पनि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्ने उनको भनाइ छ।

    काफ्लेले केन्द्रीय अधिवेशनको तयारी र जिल्ला तहका संरचनामा देखिएका विषयहरू सामान्य रहेको बताए । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास भएकाले कमजोरीभन्दा पनि दलको सुदृढीकरणको अवसरका रुपमा लिनुपर्नेमा जोड दिए।

    कांग्रेसमा विवाद वा असहमति हुनु स्वाभाविक भए पनि नेतृत्व र कार्यकर्ताहरू संवादका माध्यमबाट समाधान खोज्न सक्षम रहेको काफ्लेले प्रस्ट पारे । पार्टीलाई थप मजबुत बनाउन सबै पक्षबिच समन्वय र सहकार्यको आवश्यकता औँल्याउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए।

    पार्टीभित्रको पंक्ति, विभिन्न तहका समितिहरू र महाधिवेशन प्रतिनिधिहरूमा देउवा पक्षको बलियो र संगठित उपस्थिति रहेको दाबी गरिन्छ । पार्टीका विभिन्न समूहगत भेला र बैठकहरूमा आफ्नो पक्षमा ठुलै संख्यामा कार्यकर्ता तथा नेताहरूको समर्थन रहेको काफ्लेले बताए।

    कांग्रेस बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले पार्टीको आगामी महाधिवेशन कार्यतालिकाका कारण केन्द्रीय तथा प्रदेश तहमा समस्या उत्पन्न हुन सक्ने बताए । हाल वडादेखि नै सुरु भएको शक्ति सङ्घर्षले केन्द्रको समस्या समाधान गर्न र जिल्ला–जिल्लामा महाधिवेशनका अधिवेशनहरू सम्पन्न गर्न चुनौती थपिएको उनले बताए।

    महामन्त्री वादेले केन्द्रीय कार्यसमिति र जिल्ला तहमा देखिएका विवादहरूलाई विधि र विधान अनुसार समाधान गर्नुपर्नेमा जोड दिए । विधि र विधानलाई मिचेर अगाडि बढ्ने हो भने पार्टीभित्र थप क्षति पुग्न सक्ने उनको भनाइ छ। विशेषगरी बागमती प्रदेशमा कांग्रेसभित्र देखिएका असन्तुष्टि र विवादहरूलाई समयमै व्यवस्थापन गर्न नसके आगामी दिनमा पार्टीलाई थप घाटा हुने उनले बताए । प्रदेश सभा र स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन पनि आन्तरिक एकता अपरिहार्य रहेकोमा उनले जोड दिए।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित नारायण श्रेष्ठले पार्टीको विधि र विधानभन्दा माथि कोही पनि नरहेको बताए। विशेष अधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा पार्टीको वैधानिक व्यवस्था र विधानअनुसार नचल्ने हो भने पार्टी क्लबजस्तो मात्र हुने उनले बताए । ‘पार्टीको विधि विधानभन्दा माथि त कोही पनि छैन नि । विधि विधान त हरेकले मान्नुपर्छ । विधि विधानअनुसार भएको कुरालाई नमान्ने हो भने पार्टी कहाँ रहन्छ र ? यो क्लब त होइन नि,’ उनले भने।

    केन्द्रीय सदस्य श्रेष्ठले पार्टीको केन्द्रीय कार्यालयबाटै वैध ढंगले ७० जिल्लामा निर्वाचन अधिकृतहरू खटाइसकिएको बताए । अर्को पक्षले गरिरहेको गतिविधि पार्टीको नीति, निर्देशन र निर्देशिकाविपरीत रहेको उनको भनाइ छ। निर्वाचन गराउने अधिकार पार्टीको निर्वाचन समितिको भएकाले तल्लो तहका कार्यकर्ताहरूले पार्टीको वैधानिक प्रक्रिया बुझेको उनले बताए।

    उनका अनुसार पार्टीको विवाद समाधानका लागि आफूहरूले नेतृत्व तहमा लचकता अपनाउन सुझाव दिएको र पार्टी विभाजन हुन नदिन सभापति र शीर्ष नेतृत्वले ठुलो लचकता अपनाइएको छ । विशेष अधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिले विधानअनुसार काम गरिरहेकाले पार्टीलाई त्यसले क्षणिक रूपमा केही असर पारे पनि दीर्घकालीन रूपमा पार्टीलाई क्षति हुन नदिइने र प्रक्रियासम्मत ढंगले सबै अधिवेशन सम्पन्न गरिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार