Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडक यसरी हुँदैछ मर्मत

बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडक यसरी हुँदैछ मर्मत

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ।

    भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट–छबिसे क्षेत्रमा सडक संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडकको केही भाग भासिएपछि उक्त सडकखण्डमा नियमित यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।

    images

    सडक अवरुद्ध भएपछि निर्माण तथा प्राविधिक टोलीले क्षतिग्रस्त भागको स्थलगत निरीक्षण गरी तत्काल सडक सञ्चालनमा ल्याउने उद्देश्यले काम अघि बढाएका छन्। नदीतर्फबाट थप कटान हुन नदिन सडकको आधार मजबुत बनाउने, क्षतिग्रस्त भाग पुर्ने तथा वैकल्पिक संरचना निर्माण गर्ने काम भइरहेको छ।

    बाढीपछि मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक सडक प्रयोग गरी गल्छीदेखि देवीघाटसम्म भने आवतजावत गर्न सकिने अवस्था छ। तर मुख्य सडक बन्द हुँदा लामो दूरीका यात्रु, स्थानीय बासिन्दा तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।

    रसुवामा आएको बाढीले त्रिशूली नदी आसपासका सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि गल्छी–रसुवागढी सडकखण्डका विभिन्न स्थानमा यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ। नदी कटान भएका क्षेत्रमा सडकको पुरानो संरचना जोगाउन कठिन भएपछि वैकल्पिक मार्ग तथा अस्थायी संरचनामार्फत यातायात व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।

    चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने महत्वपूर्ण मार्ग भएकाले सडक अवरोधले स्थानीय आवागमनसँगै व्यापारिक तथा मालवाहक यातायातमा समेत असर पारेको छ। सडक अवरुद्ध हुँदा रसुवातर्फ जाने यात्रु तथा सामान ढुवानी गर्ने सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ।

    निर्माण पक्षले नदीको बहाव, मौसम तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै क्षतिग्रस्त सडकखण्डलाई सकेसम्म छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने जनाएको छ। त्यसपछि दीर्घकालीन रूपमा सुरक्षित सडक संरचना निर्माण गर्ने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार