काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विगत ५० वर्षदेखि बिग्रँदै गएको काठमाडौँ पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बन्ने दिशामा अघि बढेको बताएका छन् । आइतबार काठमाडौँ महानगर नगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार आचार्यले यस्तो बताएका हुन्।
काठमाडौँ महानगरपालिकाले पछिल्ला दिनहरूमा गरेका सुधारका कामहरू प्रशंसनीय रहेको उनको भनाइ छ। उनले महानगरलाई व्यवस्थित बनाउन सुरु भएका प्रयासहरूले आशा जगाएको धारणा राखे।
‘काठमाडौँ उपत्यका करिब ५० वर्षअघिदेखि नै बिग्रिन सुरु भएको हो, जति बिग्रिनु थियो धेरै बिग्रिसक्यो,’ आचार्यले भने, ‘तर पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन केही उल्लेखनीय र राम्रा कामहरू भएका छन्।’
उपत्यकाका विभिन्न स्थानमा परम्परागत शैलीका फल्चाहरूको पुनर्निर्माण हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले भने, ‘हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो मात्र देखिए पनि त्यसभित्र हाम्रो मौलिक सम्पदा र संस्कृति लुकेको हुन्छ। यसले हाम्रो पहिचान जोगाउन मद्दत पुर्याउँछ।’
काठमाडौँलाई देवताहरूको सहरका रूपमा चित्रण गर्दै उनले यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्ना सम्पदा, सहर र प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । आचार्यले काठमाडौँको बदलिँदो रूप देखेर विदेशीहरूले समेत प्रशंसा गर्न थालेको अनुभव सुनाए।
‘केही समयअघि भारतीय युट्युबरहरूले काठमाडौँको सरसफाइ र सौन्दर्यबारे बनाएको भिडियो हेरेको थिएँ। उनीहरूले काठमाडौँबाट सिक्नुपर्ने भन्दै यहाँको तारिफ गरेका रहेछन्,’ आचार्यले खुसी व्यक्त गर्दै भने, ‘नेपाली भएका नाताले त्यो देख्दा मेरो छाती गर्वले फुल्यो।’
काठमाडौँ महानगरपालिकामा पछिल्लो समय देखिएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिनुपर्ने सुझाव दिँदै आचार्यले सहरको विकास र सौन्दर्यकरणमा नेतृत्वको मात्र भर पर्न नहुने बताए । उनले आफ्नो सहरलाई सफा, सुन्दर र सुरक्षित राख्न प्रत्येक महानगरवासी उत्तिकै जिम्मेवार र सचेत हुनुपर्ने धारणा राखे।



