Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हिमाल पग्लिरहेको मात्र होइन, अस्थिर पनि हुँदैछ

हिमाल पग्लिरहेको मात्र होइन, अस्थिर पनि हुँदैछ

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । सन् २०२५ को जुलाईमा रसुवाको भोटेकोशीमा आएको अचानक बाढीले तातोपानीदेखि रसुवागढीसम्मको हिमाली जीवन र पूर्वाधारलाई झस्काएको थियो । त्यसबेला माथिल्लो हिमाली क्षेत्रमा बनेको हिमनदीमाथिको तालबाट पानी अचानक निस्किएको घटनासँग बाढीलाई जोडिएको थियो । एक वर्ष नपुग्दै सन् २०२६ अगस्ट २६ मा त्यही व्यापक हिमाली प्रणालीमा अझ विनाशकारी घटना दोहोरियो।

    यसपटक भोटेकोशी–त्रिशूली कोरिडोरमा आएको बाढीले मानवीय क्षतिसँगै घर, पुल, सडक र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍यायो । पछिल्लो सरकारी विवरणअनुसार यस विपत्तिमा १३ सय ८५ भन्दा बढी मानिसको मृत्यु र ५१ सय ३० भन्दा बढी बेपत्ता भएका छन् भने भौतिक क्षतिको प्रारम्भिक अनुमान रु. ३८७.५ अर्ब पुगेको छ।

    images

    तर सन् २०२६ को घटना सामान्य वर्षाजन्य बाढी वा ‘हिमताल फुट्यो’ भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन।

    हालसम्मका वैज्ञानिक विश्लेषणअनुसार लाङटाङ लिरुङ आसपासको उच्च हिमाली क्षेत्रमा चट्टान र बरफको ठुलो भाग खसेर बरफ–चट्टानको हिमपहिरो बनेको र त्यसले तलतिरको खोला तथा नदी प्रणालीमा अत्यन्त तीव्र माटो, ढुंगा, बरफ तथा पानीको बहाव सिर्जना गरेको देखिन्छ । यसरी हेर्दा सन् २०२६ को विपत्ति एउटा मात्र जोखिम नभएर हिमाली भू–भागमा हुने विभिन्न जोखिम एकपछि अर्को जोडिँदा बनेको क्रमिक विपत्ति थियो।

    रसुवाले एकपटक होइन, पटक–पटक संकेत दिइरहेको छ । सन् २०२५ को भोटेकोशी बाढी र सन् २०२६ को पछिल्लो विपत्तिलाई छुट्टाछुट्टै घटना मानेर बिर्सन सजिलो छ । तर दुवै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन् रसुवाको माथिल्लो हिमाली क्षेत्रमा के परिवर्तन भइरहेको छ?

    यस प्रश्नको उत्तर खोज्दा जलवायु परिवर्तनलाई बेवास्ता गर्न सकिँदैन । तर वैज्ञानिक रूपमा सावधानी पनि उत्तिकै आवश्यक छ । सन् २०२६ को निश्चित हिमपहिरोलाई ‘जलवायु परिवर्तनकै कारण भएको’ भनेर सीधा निष्कर्ष निकाल्नु अहिले उचित हुँदैन । तत्कालीन कारणमा चट्टानको कमजोरी, भू–आकृति, बरफ तथा पानीको अवस्था र अन्य स्थानीय प्रक्रियाको भूमिका हुन सक्छ।

    तर लामो समयदेखि भइरहेको तापक्रम वृद्धि, हिमनदीको क्षय, हिउँको स्वरूपमा परिवर्तन र उच्च हिमाली भूभागको अस्थिरताले यस्ता जोखिमको पृष्ठभूमि भने परिवर्तन गरिरहेको छ । यही परिवर्तनलाई मैले केही वर्षअघि गरेको आफ्नै अध्ययनमा पनि नजिकबाट नियाल्ने प्रयत्न गरेकी थिएँ।

    लाङटाङले महसुस गरेको परिवर्तन

    मैले लाङटाङ उपत्यकामा सन् २०२५ मा गरेको अध्ययनमा सन् १९८९ देखि २०२४ सम्मको धुन्चे मौसम केन्द्रको तापक्रम तथा वर्षा तथ्यांकलाई स्थानीय समुदायको अनुभवसँग तुलना गरेकी थिएँ । किसान, गोठाला, होटल व्यवसायी, गाइडलगायतका ३० स्थानीय व्यक्तिसँग अर्ध–संरचित अन्तर्वार्ता गरिएको थियो।

    नतिजामा, सबै उत्तरदाताले विगतका वर्षको तुलनामा चिसो कम भएको बताएका थिए । ९३ देखि एक सय प्रतिशतले हिमपात र वर्षाको समय तथा स्वरूपमा परिवर्तन आएको बताए भने ७९ प्रतिशतले भारी वर्षा वा हिउँ पग्लिएपछि पहिरो बढेको अनुभव सुनाएका थिए । हिमनदी क्रमशः खुम्चिँदै गएको, पानीका स्रोतमा परिवर्तन आएको र खेती तथा पशुपालनको परम्परागत तालिका प्रभावित भएको कुरा पनि स्थानीय अनुभवमा आएको थियो।

    धुन्चेमा वार्षिक अधिकतम तापक्रमको प्रवृत्ति, १९८९–२०२४ सम्म 

    1

    स्रोतः जल तथा मौसम विज्ञान विभाग।

    तापक्रमले के देखाउँछ?

    धुन्चेको सन् १९८९ देखि २०२४ को तथ्यांक विश्लेषण गर्दा तापक्रममा स्पष्ट वृद्धिको प्रवृत्ति देखिएको थियो । अध्ययनमा वार्षिक औसत तापक्रम करिब ०.०३ देखि ०.०५ डिग्री सेल्सियस प्रतिवर्षको दरले बढेको देखिएको थियो। स्थानीयले भनेको ‘जाडो न्यानो हुँदै गयो’ भन्ने अनुभवलाई यसले मौसमसम्बन्धी अभिलेखसँग जोड्ने आधार दिएको थियो।

    धुन्चेमा वार्षिक न्यूनतम तापक्रमको प्रवृत्ति, १९८९ देखि २०२४ सम्म 

    2

    स्रोतः जल तथा मौसम विज्ञान विभागको तथ्यांक,

    वर्षाको प्रकृति कस्तो रह्यो?

    जलवायु परिवर्तन भन्नाले वार्षिक वर्षाको कुल मात्रा मात्र बदलिनु होइन । वर्षा कहिले हुन्छ, कति छोटो समयमा हुन्छ र कति तीव्र हुन्छ भन्ने कुरा हिमाली जोखिमका लागि अझ महत्वपूर्ण हुनसक्छ । मेरो अध्ययनमा पनि स्थानीयहरूले छोटो समयमा हुने तीव्र वर्षा, अनिश्चित वर्षा र हिमपातमा आएको परिवर्तनलाई बारम्बार उल्लेख गरेका थिए।

    धुन्चेमा वार्षिक वर्षाको प्रवृत्ति, १९८९–२०२४

    3

    स्रोतः जल तथा मौसम विज्ञान विभागको तथ्यांक,

    २५ अप्रिल २०१५ को गोरखा भूकम्पले लाङटाङ उपत्यकामा ठुलो हिम–चट्टान तथा भग्नावशेषको पहिरो निम्त्यायो र लाङटाङ गाउँ नै त्यसको चपेटामा परेको थियो । वैज्ञानिक अध्ययनले उक्त घटना भूकम्पले गर्दा भएको ठुलो भू–स्खलनका रूपमा अभिलेख गरेको छ।

    तर सन् २०१५ को घटना र सन् २०२६ को घटना एउटै कारणले भएका होइनन् । सन् २०१५ मा भूकम्प तत्कालीन कारण थियो भने २०२६ को घटनामा बरफ–चट्टानको हिमपहिरो तथा उच्च हिमाली भूभागको अस्थिरता प्रमुख देखिएको छ । यस भिन्नतालाई महत्वसाथ बुझ्नु पर्ने हुन्छ । हिमालमा विपत्ति एउटै कारणबाट मात्र आउँदैन, फरक–फरक प्राकृतिक प्रक्रिया एउटै नदी प्रणालीमा जोडिएर ठुलो विपत्ति बन्न सक्छन्।

    हिमताल जोखिमको हिस्सा

    नेपाल–चीन हिमाली करिडोरमा भएका अध्ययनहरूले पनि जोखिमलाई गम्भीर रूपमा हेर्नुपर्ने देखाएका छन् । सन् २०२४ मा प्रकाशित एक अध्ययनले नेपाल–चीनका चार प्रमुख यातायात करिडोरमा २६ सय ८८ वटा हिमताल पहिचान गरेको थियो । सन् १९९२ देखि २०२२ सम्म यी हिमतालको कुल क्षेत्रफल करिब ३२ प्रतिशतले बढेको अध्ययनले देखाएको छ।

    केरुङ–काठमाडौं कोरिडोर उच्च हिमताल विस्फोटजन्य बाढीको जोखिम भएको क्षेत्रमध्ये परेको छ । सम्भावित हिमताल विस्फोटजन्य बाढीले सडक, पुल, सुख्खा बन्दरगाह र अन्य पूर्वाधारमा सीमापार प्रभाव पार्न सक्ने पनि अध्ययनले देखाएको छ । यसको अर्थ सबै हिमताल फुट्नेछन् भन्ने होइन । बरु समस्या के हो भने हिमताल, हिमनदी, अस्थिर चट्टानी ढलान र तलतिर बढ्दै गएको मानव पूर्वाधार एउटै जोखिम प्रणालीका भाग बनेका छन्।

    रसुवाको पछिल्लो घटनाले हामीलाई एउटा प्रश्न सोध्नै पर्ने बनाएको छ । बाढी आउनुअघि नै जोखिम पहिचान गर्न सकिँदैन ? हामी प्रायः नदीको पानी बढेपछि बाढीबारे सोच्न थाल्छौँ । तर जोखिम नदीभन्दा धेरै माथि, हिमनदी वा चट्टानी ढलानबाट सुरु भएको हुन सक्छ।

    R3

    यसका लागि स्विट्जरल्यान्डको ब्लाटेनको घटना उपयोगी उदाहरण हो । २८ मे २०२५ मा बिर्च हिमनदीको ठुलो भाग खसेर चट्टान र बरफको भीषण हिमपहिरो आयो र गाउँको ठुलो हिस्सा पुरियो । तर त्यसअघि नै पहाडको भिरालो भागमा अस्थिरता र हिमनदीको गति बढिरहेको निगरानीबाट देखिएको थियो।

    जोखिम बढेपछि स्थानीय अधिकारीहरूले मे १७–१९ मै करिब तीन सय जनालाई सुरक्षित स्थानमा सारेका थिए । त्यसको नौ दिनपछि ठुलो घटना भयो । यसले प्रविधिको मद्दले सम्भावित दुर्घटना रोक्न सकिन्छ भन्ने महत्वपूर्ण सम्भावना देखायो । उपग्रह राडार, विश्वव्यापी स्थान निर्धारण प्रणाली (जीपीएस), क्यामेरा र भूकम्पीय निगरानीबाट जमिन तथा हिमनदीको सानो–सानो गति पनि पहिल्यै पहिचान गर्न सकिन्छ।

    ब्लाटेनमा ध्वस्त हुनुअघि पछिल्ला दिनमा हिमनदीको गति झन् तीव्र भएको पनि निगरानीबाट देखिएको थियो । नेपालले पनि यस्ता अभ्यासबाट सिक्न सक्छ । उच्च हिमाली क्षेत्रमा उपग्रह तथ्यांक, स्वचालित मापन उपकरण, भूकम्पीय निगरानी र स्थानीय समुदायको अनुभवलाई जोडेर हिमनदी, हिमताल र अस्थिर पहाडको भिरालो भागको नियमित निगरानी गर्न आवश्यक छ।

    नेपाल–चीन सीमापार क्षेत्रमा यसको आवश्यकता अझ बढी छ । जोखिमको स्रोत एकातिर र त्यसको असर अर्कोतिर हुन सक्छ । त्यसैले तत्काल सूचना आदान–प्रदान, संयुक्त निगरानी र समयमै चेतावनी दिने प्रणाली अब विपद् व्यवस्थापनको प्राथमिकतामा पर्नुपर्छ । स्थानीय समुदायलाई पनि केवल उद्धार पर्खने समूहका रूपमा होइन, जोखिम पहिचानको साझेदार बनाउनुपर्छ।

    उपग्रह निगरानीले परिवर्तन देखाउन सक्छ, मापन उपकरणले गति मापन गर्न सक्छ । तर स्थानीय मानिसले आफ्नो हिमाल र खोलामा आएको परिवर्तन वर्षौँदेखि देखिरहेका हुन्छन् । यी सबै सूचनालाई एकीकृत गर्न सकिएमा विपत्ति रोक्न नसकिए पनि क्षति घटाउन सकिन्छ।

    समुदाय निगरानीको हिस्सा हो

    लाङटाङ अध्ययनको एउटा महत्वपूर्ण सिकाइ यही हो । दुर्गम हिमाली समुदाय केवल विपत्तिका पीडित होइनन्, उनीहरू वातावरणीय परिवर्तनका दीर्घकालीन पर्यवेक्षक पनि हुन् । लाङटाङका स्थानीय बासिन्दाले हिमपात घटेको, जाडो/न्यानो भएको, पहिरो बढेको, हिमनदी खुम्चिएको, पानीका स्रोतमा परिवर्तन आएको र खेती तथा पशुपालनको मौसमी तालिका परिवर्तन भएको बताएका थिए।

    यी स्थानीय अनुभव उपग्रह र मौसमसम्बन्धी तथ्यांकको विकल्प होइनन् । तर जहाँ औपचारिक निगरानी सञ्जाल सीमित छ, त्यहाँ स्थानीय ज्ञान वैज्ञानिक निगरानीको महत्वपूर्ण पूरक हुन सक्छ ।

    R2

    सन् २०१५ मा भूकम्पले लाङटाङलाई हल्लायो । सन् २०२५ मा भोटेकोशीमा अचानक बाढी आयो । सन् २०२६ मा फेरि उच्च हिमाली क्षेत्रबाट सुरु भएको बरफ–चट्टानको हिमपहिरोले भोटेकोशी–त्रिशूली करिडोरलाई विनाश गर्यो।

    यी तीन घटनालाई एउटै कारणले व्याख्या गर्न मिल्दैन । तर तिनले एउटै पाठ भने दिन्छन् हिमाली जोखिमलाई टुक्राटुक्रामा बुझेर अब पुग्दैन । तापक्रम बढिरहेको छ । हिमनदीहरू परिवर्तन भइरहेका छन् । हिमतालहरू पनि बदलिरहेका छन् । पहाडका भिरालो भागहरू अस्थिर हुन सक्छन् । अर्कोतर्फ, नदी किनार र साँघुरा उपत्यकामा सडक, जलविद्युत् आयोजना, व्यापारिक केन्द्र र बस्ती विस्तार भइरहेका छन्।

    त्यसैले जोखिम केवल हिमालमा छैन । जोखिम हिमाल र मानव बस्तीबिचको सम्बन्धमा छ । हामीले अब बाढी आएपछि मात्र नदी हेर्ने होइन नदीको स्रोत, हिमनदी, हिमताल, चट्टानी ढलान र त्यससँग जोडिएको सम्पूर्ण भू–परिदृश्यलाई हेर्नुपर्ने समय आएको छ । किनकि प्रश्न अब ‘अर्को बाढी कहिले आउँछ ?’ भन्ने मात्र होइन।

    प्रश्न यो हो ‘हामीले अर्को हिमाली संकेत देखिनुअघि कति कुरा बुझिसक्नेछौँ?’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार