Oct 29 2026 | २०८३ कार्तिक १३ गते

मोदी, सी र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता

मोदी, सी र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आइतबार दोस्रो दिन चलिरहेको छ ।  दोस्रो दिनको सम्वोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो तनाव, महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका समस्याले एक देशको संकटले अन्य देशलाई समेत प्रभावित पार्ने अवस्था आएको बताएका छन्।

    नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजित सम्मेलनको खुला सत्रमा बोल्दै मोदीले विश्वका देशहरू एकअर्कासँग गहिरोसँग जोडिएकाले कुनै एक ठाउँमा उत्पन्न हुने संकटको प्रभाव अन्य देशमा समेत पर्ने बताएका हुन्।

    images

    उनले महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका अवरोधले विश्वव्यापी अन्तरनिर्भरता स्पष्ट पारेको उल्लेख गरे । विश्वमा बढ्दो तनावले आम मानिसको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको उनको भनाइ थियो।

    ब्रिक्समा एकीकृत पूर्वचेतावनी प्रणाली बनाउने सहमति

    मोदीले यस्ता संकटको सामना गर्न ब्रिक्स राष्ट्रहरूलाई पूर्वतयारी अवस्थामा राख्न भारतले विशेष जोड दिएको बताए।उनका अनुसार संक्रामक रोगको फैलावट रोक्न तथा त्यसबाट उत्पन्न हुने संकट व्यवस्थापन गर्न ‘ब्रिक्स एकीकृत पूर्वचेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको छ।

    त्यसैगरी, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसम्बन्धी तथ्यांकलाई एकीकृत गर्ने दिशानिर्देशसमेत तयार पारिएको उनले जानकारी दिए । यस्तो सहकार्यले सदस्य राष्ट्रहरूलाई सम्भावित संकटबारे समयमै सूचना प्राप्त गर्न र जोखिम न्यूनीकरणका उपाय अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सहकार्य, नवप्रवर्तन र दिगोपनामा जोड

    ब्रिक्सको बढ्दो प्रभाव, आकर्षण र सदस्य राष्ट्रहरूबीचको विश्वासले संगठनको विस्तार तथा सक्रियता देखाएको मोदीले बताए । भारतको अध्यक्षतामा ब्रिक्सको कामलाई चार प्रमुख आधारमा अघि बढाइएको उनको भनाइ थियो।

    उनले लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपनलाई प्राथमिकताका रूपमा प्रस्तुत गरे । ब्रिक्स राष्ट्रहरूबीचको सहकार्यबाट साझा सोचलाई व्यवहारिक कार्यमा रूपान्तरण गरी सबै सदस्य राष्ट्रलाई लाभ पुर्‍याउने प्रयास गरिएको उनले बताए।

    मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा

    सम्मेलनको दोस्रो दिनको समूह तस्बिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री मोदीसँगै देखिएका थिए । यसअघि मोदीले भारत मण्डपमा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गरेका थिए।

    सम्मेलनमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, भियतनामका प्रधानमन्त्री ले मिन्ह हङ, बुरुन्डीका राष्ट्रपति एभरिस्ट न्दायिशिमिये र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरलगायतका नेताहरू भारत मण्डप पुगेका थिए।

    यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र सांसद प्रियंका गान्धी वाड्रासँग बिहानको खानामा भेटवार्ता गरेका छन्।

    सम्मेलनको दोस्रो दिन विश्वव्यापी सहयोग, आर्थिक विकास, व्यापार, सुरक्षा तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने कार्यक्रम छ । मोदीले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार