काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद र अधिवेशन/महाधिवेशनको विषयमा देउवा पक्षीय नेताहरूले एकताका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन् । देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीमा देखिएको विवाद अन्त्य गर्न र महाधिवेशनलाई एकताबद्ध बनाउनका लागि आफूहरूले केही आधारभूत सर्त राखेको र त्यो सर्त पूरा गरे आफूहरू महाधिवेशनमा सहभागी हुने जानकारी दिए।
देउवा समूहका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहितका २५ नेताले शुक्रबार पार्टी एकताका लागि दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपिल गरेका थिए।
गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सुरु भएको विवाद अझै मिल्न सकेको छैन । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट आएको समितिलाई स्वीकारेको छैन । तर, माघ २ गते निर्वाचन आयोगले र वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले विशेष महाविधेशनलाई आधिकारिकता दिएपछि विशेष महाधिवेशनबाट आएको समितिले १५औँ महाधिवेशनको तयारी गरिरहेको छ।
देउवा समूहले भने सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलालाई पुनरवलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ।
यही विवादका बिच संस्थापन र देउवा समूहका छुट्टाछुट्टै महाधिवेशनका कार्यतालिका आएका छन् । यसले पार्टी विभाजनको सङ्केत देखिएको भन्दै देउवा समूहका २५ नेताले निवर्तमान सहमहामन्त्री उपाध्यायको नेतृत्वमा दुवै महाधिवेशन मिति स्थगित गरेर एकता महाधिवेशनको मिति तय गर्न शुक्रबार आग्रह गरेका थिए।
नेपाली कांग्रेसको नाममा हुने अधिवेशन वा महाधिवेशन एउटै हुनुपर्ने र वडादेखि केन्द्रसम्मका सबै प्रक्रिया एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उनीहरूको माग छ । ‘हामी सानेपा र सुन्धाराबाट आएका दुई वटा कार्यतालिकालाई एकीकरण गरी एउटै टेबलमा बसेर छलफल गर्न चाहन्छौँ । पार्टीभित्रको यो द्वन्द्वले सङ्कटपूर्ण अवस्था निम्त्याएको छ,’ अपिल जारी गर्नेमध्यका नेता विश्वकर्माले रातोपाटीसँग भने।
विश्वकर्माका अनुसार उनीहरूले सभापति गगन थापासमक्ष सर्त राखेका छन् । ती सर्त पूरा भएमा आफूहरू संस्थापनले सुरु गरेको महाधिवेशनमा सहभागी हुने उनले बताए।
विश्वकर्माका अनुसार यस्ता छन् उनीहरूले राखेका सर्त
१. १५औँ महाधिवेशनका लागि भन्दै गत पुसमै नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई नै महाधिवेशनमा भाग लिन मान्यता दिने । (यो निर्णय कार्यसम्पादन समिति बैठकले गरिसकेको छ)
२. अध्यावधिक कार्यलाई अनिवार्य नगर्ने तर डिजिटल प्रणालीलाई निरन्तरता दिने । (यो निर्णय पनि कार्यसम्पादन समिति बैठकले गरिसकेको छ)
३. विशेष महाधिवेशनमा नगएका वा निर्वाचित नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई पनि विशेष महाधिवेशनको कार्य समितिमा समावेश गर्ने।
४. महाधिवेशनका लागि बन्ने सबै समितिहरूमा सबै पक्षको सम्मानजनक सहअस्तित्वका आधारमा सहभागिता सुनिश्चित गर्ने।
५. आवश्यकता परेको खण्डमा कार्यतालिकामा केही हेरफेर गरेर भए पनि एकताको वातावरण बनाउने। यो अपिल जारी गर्नुभन्दा अगाडि नेताहरूले सभापति गगन थापासहितका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा उनीहरूले राखेका र पार्टीले निर्णय गर्न बाँकी निर्णय पदाधिकारीमा छलफल गरेर केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गराउने थापाले बताएका थिए।
कांग्रेस पदाधिकारीको शनिबार बसेको बैठकमा सभापति थापाले यी माग पूरा गरेमा २५ नेता महाधिवेशनमा सहभागी हुने बताएकाले कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरौँ भन्ने प्रस्ताव राखेका थिए । त्यसमा पदाधिकारीहरूले सहमति जनाएपछि आज दिउँसो २ बजे सभापति थापाले कार्यसम्पादन समिति बैठक बोलाएका छन् । त्यो बैठकबाट आफूहरूले यसअघिबाट राख्दै आएका मागबारे निर्णय भए आफूहरू महाधिवेशनमा सहभागी हुने विश्वकर्माले जानकारी दिए।
‘हामीले यसअघि राख्दै आएका माग पूरा गर्ने बचनबद्धता सभापतिज्यूले गर्नुभएको छ । त्यो बचनबद्धता अनुरुप कार्यसम्पादन समितिको बैठकले निर्णय गर्यो भने हामी महाधिवेशनमा सहभागी हुन्छौँ,’ विश्वकर्माले भने, ‘त्यो हाम्रोमात्र माग होइन, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले राख्दै आएको माग हो। यसले एकताको महाधिवेशन हुने वातावरण तय गर्छ।’
विश्वकर्माले आफूहरू कुनै पक्ष वा विपक्षमा नभई नेपाली कांग्रेसको एकता र चारतारे झन्डाको पक्षमा रहेको बताए। ‘हामी हिजो पनि नेपाली कांग्रेसमा थियौँ, आज पनि छौँ र भोलि पनि पार्टी एकताकै पक्षमा हुन्छौँ । यदि गगन थापाले हाम्रा यी मागहरूलाई सम्बोधन गरी निर्णय गर्नुभयो भने हामी महाधिवेशनमा सहभागी हुन तयार छौँ,’ विश्वकर्माले भने।
पार्टी प्रवक्ता देवराज चालिसेले पनि एकताका लागि इतर समूहले पहिलादेखि राख्दै आएका माग सम्बोधन गर्न आफूहरू सकारात्मक रहेको बताए । ‘पार्टी एकताको पक्षमा हामी लचक छौँ । सभापतिज्यूले सार्वजनिक रूपमा पनि त्यो विषय बताइरहनु भएको छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘विधि विधानभित्र रहेर सबैका विचारलाई सम्बोधन गरेर अगाडि बढ्छौँ । विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई हामीले त्यो भनिरहेका छौँ।’
शुक्रबार एकताका लागि भन्दै अपिल जारी गर्नेमा निवर्तमान सहमहामन्त्री उपाध्याय, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सिताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, इन्द्र बानियाँ, अनिल रुङ्गटा र माया राई छन्।
अपिल जारी गर्नेमा सबै १४औँ महाधिवेशनमा निवर्तमान सभापति देउवाको प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्यमा जितेका नेताहरू छन्।



