काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनसँगै एक वर्षअघि भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
आइतबार फेसबुकमा लामो स्टाटस लेख्दै गुरुङले त्यतिबेला जेनजी आन्दोलनसँगै भदौ २३ पछिको राजनीतिक परिस्थितिमा देश अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको बताएका छन् । राजनीतिक नेतृत्वप्रतिको विश्वास भत्किएको र पुरानो नेतृत्व स्वीकार्य नभएको अवस्थामा नयाँ नेतृत्व छनोट गर्नु चुनौतीपूर्ण बनेको उनले उल्लेख गरेका छन्।
देश लामो समय शक्ति रिक्ततामा रहनु उचित नहुने भन्दै एक नागरिकका रूपमा आफ्नो एउटै चाहना देशले निकास पाओस् र राज्य सञ्चालनमा आओस् भन्ने रहेको गुरुङले बताएका छन्।
भदौ २७ गते देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा पनि आएको उल्लेख गर्दै उनले राष्ट्रपति कार्यालय पुग्दाको अवस्था स्मरण गरेका छन् । राष्ट्रपति कार्यालय पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट रहेको र एक थोपा पानी तथा अन्नसमेत मुखमा नपरेको उनले स्मरण गरेका छन्।
९ घण्टासम्मको प्रतीक्षामा अन्योलता भए पनि देशलाई खाली हात फर्काउन नहुने अडानमा आफू रहेको गुरुङले उल्लेख गरेका छन् । बाहिर सिंगो देश पर्खिरहेको भन्दै उनले अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको बताएका छन्।
कार्की चुनावी सरकारको प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको र देशले निकास पाएको अनुभूति गरेको गुरुङले बताएका छन्।
उक्त परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट बनेको उनको भनाइ छ । आफ्नो भागमा आएको जिम्मेवारी आफूले सकेसम्म निभाएको उल्लेख गर्दै गुरुङले भदौ २७ सम्झिँदा कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता व्यक्त गरेका छन्।
कार्की नेतृत्वको त्यही अन्तरिम सरकारले गत फागुन २१ मा चुनाव गराएको थियो । सोही चुनावपछि बालेन शाहको नेतृत्वको सरकार बनेको थियो । सोही बालेन मन्त्रिमन्त्रिपरिषद्मा सुधन गृहमन्त्री छन्।



