काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने २८ अनिष थापा मगर छन्।
उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क खटिएको टोलीले पक्राउ गरेको हो। उनले नक्कली सुनलाई सक्कली सुन भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेका थिए।
उनीबाट नक्कली सुन ८६५ ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए।
पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । उनी बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन् । जेनजी आन्दोलनमा उनी नख्खु कारागारबाट फरार भएका थिए।



