Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनामा बयान लिने काम सकिएको छ।

    घटनाको स्थलगत छानबिनका लागि गएको टोलीले ड्युटीमा खटिएकाहरूसँग शुक्रबार बयान लिएको हो । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुप्रभात श्रेष्ठले अस्पतालमा भएको घटनाको स्थलगत निरीक्षण तथा ड्युटीमा रहेका नर्सिङ स्टाफ, निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लगायत घटनासँग जोडिएका सम्पूर्ण व्यक्तिहरूसँग बकपत्र तथा बयान लिइएको बताए।

    images

    उनले भने,"अस्पतालका निर्देशकदेखि लिएर घटनामा मुछिएका कर्मचारीहरू र पीडित पक्षका आमा-बुवासँग समेत सोधपुछ गरी बयान दर्ता गरेको हो। छानबिन प्रक्रियाको एउटा प्रमुख हिस्साका रूपमा लिइएको यस बयानलाई सङ्कलन गरी टोली अब काठमाडौँ फर्कने तयारीमा रहेको छ।"

    ​काठमाडौँ फर्किएपछि टोलीले प्राप्त बयानहरूलाई विद्यमान नियम र कानुनसँग तुलना गरी कहाँ कसको कमी-कमजोरी वा लापरबाही भएको हो भन्नेबारे विस्तृत अध्ययन गर्नेछ।

    सोही अध्ययनका आधारमा तयार पारिने अन्तिम प्रतिवेदन सम्बन्धित निकायमा बुझाइनेछ। सो प्रतिवेदनका आधारमा नै दोषीमाथि के-कस्तो कारबाही गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे आधिकारिक निर्णय लिइने टोलीले जनाएको छ।

    घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगेको थियो ।अस्पतालको सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।

    सुत्केरी बेथाले च्यापेपछि पत्नी बबितालाई लिएर गजेन्द्रनारायण सिंह अस्पताल पुगेका सप्तरीका हरेराम पासवानले परीक्षण शुल्कबापतको ३२ सय रुपैयाँ जुटाउन नसकेको घटना सार्वजनिक भएको थियो।

    रकम अभावका कारण उपचार नपाउँदा बबिताले अस्पतालछेउकै सडकपेटीमा सवा घण्टासम्म छटपटाएर बच्चा जन्माउनु परेको थियो । मंगलबार राति १ बजेतिर श्रीमान् हरेराम पासवान र छिमेकी महिलाका साथ ई-रिक्सा चढेर बबिता अस्पताल पुगेकी थिइन्।

    लेबर वार्डमा जाँच गरिसकेपछि अस्पतालका कर्मचारीले रगत परीक्षणका लागि बिलिङ गराउन हरेरामलाई पुर्जा थमाएका थिए। तर, पासवान दम्पतीसँग जम्मा २ हजार रुपैयाँ मात्र उपलब्ध भएको र रगत परीक्षणका लागि ३२ सय रुपैयाँ लाग्ने भएपछि हरेराम रकमको जोहो गर्न अन्योलमा परेका थिए।

    ​आफन्तबाट पनि रकम जुट्न नसकेपछि उनी श्रीमतीलाई साथै लिएर बाहिर चिनेजानेका औषधि पसलेसँग सापटी माग्न निस्किएका थिए। यद्यपि, बजारका सबै पसलहरू बन्द रहेकाले उनीहरू बिहान पसल खुल्ने पर्खाइमा सडकमै बस्न बाध्य भए। सोही क्रममा बिहान साढे ४ बजेतिर बबिताले सडकपेटीमै बच्चा जन्माउनु पर्‍यो, जसको भिडियो सामाजिक सञ्जालमा  फैलिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार